पूर्व महान्यायाधीवक्ताको बहस : सचिव पाण्डेलाई सन्दीपलाई जस्तै शर्त राखेर छाड्दा हुन्छ श्रीमान!

बरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई थुनामुक्त गर्न माग गरे।
सोमबार जिल्ला अदालत काठमाडौंमा पाण्डेको तर्फबाट बहस गर्दै श्रेष्ठले उनलाई चलाउनै नपर्ने मुद्दा चलाइएको भन्दै थुनामुक्त गर्न माग गरे।
अहिले शरणार्थी प्रकरणका प्रतिवादीको थुनछेक बहस जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको छ। सोमबारसम्ममा पाण्डेसहित १२ जनाको तर्फबाट सकिएको छ। अब ६ जनाको तर्फबाट थुनछेक बहस हुन बाँकी छ।
पूर्व गृहसचिव समेत रहेका पाण्डेलाई चनाउनै नपर्ने कसुरमा मुद्दा चलाइएको श्रेष्ठले बताए। नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारीलाई मुद्दा चलाउने क्षेत्राधिकार प्रहरी र सरकारी वकिलको नभएको र चलाउने परे पनि सरकार र लोक सेवा आयोगको सहमती लिनु पर्ने बताए।
केशव दुलालसँगका म्यासेज र उनको बयानले पाण्डे अनुसन्धानमा तानिएका थिए। पछि प्रमाण फेला परेको भन्दै उनीविरुद्ध मुद्दा चलाइएको छ। तर कुनै पनि बयान नै प्रमाण मानेर मुद्दा चलाउन नमिल्ने श्रेष्ठले बताए।
शरणार्थी प्रकरणमा पाण्डेले रकम लिएको प्रमाण पनि नरहेको श्रेष्ठले इजलासमा बताए।
‘पहिलो पटक बयान हुँदा उनले कसैलाई पनि मुछेका थिएनन्। पछि पाण्डेको नाम मुछे, तेस्रो पटकको बयानमा अन्यको पनि नाम लिएका थिए, तर उनीहरुलाई भने मुद्दा चलाइएन’, इजलासमा श्रेष्ठले भने, ‘प्रहरीले बदनीय राखेर चुज एण्ड पिक गर्यो।’
दुलालले तेस्रो पटकको बयानमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलदेखि, अख्तियार प्रमुख प्रेमकुमार राई, ओलीका स्वकीय राजेश बज्रचार्य लगायतको नाम लिए पनि उनीहरुलाई भने अनुसन्धानको दायरामा नल्याइएको श्रेष्ठले गुनासो गरे।
त्यस्तै प्रस्ताव लैजाने एउटा व्यक्ति पदमा छ, अर्को व्यक्तिले मुद्दा खेपिरहनु परेको छ यो नियत राम्रो देखिएन भन्दै श्रेष्ठले अनुसन्धान निकायको नियतमा प्रश्न उठाएका छन्।
पाण्डेलाई थुनामा राख्न जरुरी नभएको, उनी कहिँ पनि भागेर नजाने भएकाले यदि अदालतलाई शंका लाग्छ भने सन्दीप लामिछानेलाई जस्तै शर्तसहित रिहा थुनामुक्त गर्न श्रेष्ठले आग्रह गरे। सन्दीपलाइृ उच्च अदालतले विदेश जना नपाउने र काठमाडौं बाहिर जान पनि अनुमति लिनु पर्ने शर्त राखेर थुनामुक्त गरेको थियो।
पछि सर्वोच्च अदालतले यी दुवै प्रतिबन्ध हटाइदिएको थियो। पाण्डेका अन्य वकिलले आइतबार नै बहस गरेको भएपनि श्रेष्ठको बहस बाँकी थियो।








