रकम फिर्ता नगर्ने सहकारीको दर्ता खारेज किन नगर्ने ?

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा कार्यसमितिमा भएका सदस्यहरू पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड, सहकारी मन्त्री रन्जिता श्रेष्ठ, सचिव डा. दामोदर रेग्मी र सहकारी विभागका महानिर्देशक नमराज घिमिरे आफूहरूको नेतृत्वमा चलिरहेको भनेर सहकारी संघसंस्थालाई भन्दै हिँडेका छन् ।

तर, सरोकारवाला पक्ष आफ्नो मुठीमा लिन सफल भएपनि मिडिया भने आफूहरूको पक्षमा नभएको उनीहरूको गुनासो छ । केही दिनअघि मन्त्रालयका सचिव रेग्मी र विभागका महानिर्देशक घिमिरे सहकारी संघसंस्था ठिकठाक रहेको दाबी गरे । साथै, बचतकर्ताको सहकारीमा भएको रकम पनि सुरक्षित रहेको उनीहरूले बताए ।

सहकारी विभागका महानिर्देशक घिमिरे व्यवसायीसँगको आर्थिक लेनदेनमा जस्तोसुकै काम गर्न पनि तयार हुन्छन् भनेर त उनी यातायात व्यवस्था विभागको महानिर्देशक हुँदै व्यवसायीको हितमा गरेका निर्णयबाट थाहा पाउन सकिन्छ । उनी यातायात व्यवस्था विभागबाट सरुवा भई वन तथा वातावरण विभाग आएकोमा एउटा सिको नभाँचेपछि सहकारी विभागमा आएका हुन् । अहिले सहकारी विभागमा महानिर्देशक भएर आइपछि उनलाई दसैँ लागेको छ ।

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी संघसंस्थाका सञ्चालक, अध्यक्षलाई कारबाही नगर्न तथा दर्ता खारेज नगर्न सम्बन्धित निकायलाई करोडौँ रुपैयाँ दिएको सहकारी महासंघ नै बताउँछ । सहकारीमा बचत गर्ने बचतकर्तामध्ये कति रकम फिर्ता नपाएर आत्महत्या गर्न बाध्य भएका छन् त कति सडक आन्दोलनमा व्यस्त छन् । यस्तो हुँदा पनि सहकारी विभागका महानिर्देशक न त बचतकर्ताको रकम फिर्ता गराउन कुनै पहल नै गर्छन् न रकम फिर्ता नगर्ने सहकारीलाई कारबाही नै गर्छन् । अहिले सहकारीका बचतकर्ताको रुवाबासी छ । तर, विभागका महानिर्देशक र मन्त्रालयका सचिव सहकारी महासंघका अगाडि लम्पसार परेका छन् ।

३५ हजार बढी सहकारीमा करोडौँ बचतकर्ताले २१ खर्ब रकम बचत गरेका थिए । त्यसैले, अब कि त यो रकम सरकारले बचतकर्तालाई फिर्ता गर्छ भनेर भन्नुपर्छ होइन भने सहकारी संघसंस्थामा रकम नराख्नुस् भनेर सर्वसाधारणलाई सचेत गराउनुपर्छ । अहिले त आफ्नो व्यक्तिगत स्वार्थका कारण सहकारी विभागका महानिर्देशक नमराज घिमिरे, मन्त्री रन्जिता श्रेष्ठ, सचिव डा. दामोदर रेग्मी बचतकर्ता डुबेको देखे पनि नदेखेझैँ बसेका छन् ।

अझै सहकारी संघसंस्थाको कार्यक्रममा गएर सहकारीमा रकम राख्न प्रोत्साहन गर्छन् । यसरी यत्रो बचतकर्ताको यति धेरै रकम सहकारीमा डुब्दा अझै पनि सहकारीमा रकम राख्नुस् भनेर उनीहरू भनिरहँदा सजिलै यहाँ आर्थिक चलखेल भएको प्रष्ट हुन्छ । सहकारीले मकै पोल्नेदेखि घरायसी काम गर्ने, जुत्ता सिलाउनेसहितको रकम खाइदिएको छ । यसरी गरिब जनताले खाइनखाई बचत गरेको रकम सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारी रातारात लिएर टाप कस्छन् ।

तर, यस्तो हुँदा पनि सदनमा कुनै सांसदले सहकारीको दर्ता खारेज गर्नुपर्छ र बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका सञ्चालक, अध्यक्षमाथि कारबाही गर्नुपर्छ भनेर आवाज उठाएका छैनन् । सहकारी संघसंस्थाहरु अहिले पनि बजार प्रतिनिधि खटाएर रकम उठाइरहेका छन् । तर, आज बजार प्रतिनिधिले रकम लिएर जाँदा भोलि त्यो सहकारी नै भागिसकेको हुन्छ । सहकारीका बचतकर्ताहरू अहिले आँखाभरि आँसु बोकेर बसिरहेका हुन्छन् । सुनिन्छ, एउटै सहकारीमा एक बचतकर्ताको पाँच हजारदेखि पन्ध्र करोड रुपैयाँसम्म डुबेको छ ।

अहिले सहकारीबाट पीडित भएका बचतकर्ताहरू भन्छन्, ‘हिजो सरकारले सहकारीमा रकम सुरक्षित हुन्छ भनी हामीलाई बचत गर्न लगायो । तर, आज सहकारीले रकम फिर्ता नगर्दा न फिर्ता गराउन कुनै पहल नै गर्‍यो न त्यो सहकारीको दर्ता नै खारेज गर्‍यो ।’ सरकारमाथि आक्रोश पोख्दै उनीहरू सञ्चारमाध्यमले आफूहरूलाई सहयोग गरिरहेको बताउँछन् । केही दिनअघि काठमाडौँको मिनभवनस्थित सहकारीले रकम फिर्ता नगरे उजुरी दिन आएका बचतकर्तासँग हामीले कुराकानी गरेका थियौँ ।

तर, सहकारीविरुद्ध उजुरी दिन आएका ती पीडित बचतकर्तालाई विभागले गाउँपालिका, नगरपालिका, महानगरपालिका तथा प्रदेशमा जानुस् भनेर फर्काइरहेको थियो । एकातिर सहकारीमा रकम डुबेको पीडा त अर्कातिर त्यहीँ सहकारी विरुद्ध उजुरी हाल्न पनि यत्रो सास्ती व्यहोर्नुपर्ने । सहकारी विभागमा भेटिएका पीडित बचतकर्तामध्ये एक बचतकर्ताले पटक पटक रकम फिर्ता गर्न आग्रह गरेपनि ललितपुरको कुमारीपार्टीमा रहेको ज्योतिपूञ्ज बचत तथा ऋण सहकारी संस्थाले रकम फिर्ता नगरेकाले सो सहकारीविरुद्ध उजुरी हाल्न आएको बताए ।

तर, उनलाई पनि विभागले प्रदेशमा गएर उजुरी हाल्न भन्यो । त्यस्तै, राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड के्रडिट कोअपरेटिभले पनि बचत फिर्ता नगरेकाले उक्त सहकारी विरुद्ध उजुरी हाल्न आएको एक बचतकर्ताले बताए । सहकारीले रकम फिर्ता नगरेको भन्दै सहकारी विभागमा दिनानुदिन हजारौँ बचतकर्ता उजुरी हाल्न आउँछन् । तर, विभाग भने उजुरी दर्ता नगरी प्रदेश तथा स्थानीय तहमा जानुस् भन्दै बचतकर्तालाई फिर्ता पठाउँछ ।

सहकारीका सञ्चालक, अध्यक्षहरूले त बढी ब्याजको प्रलोभनमा बचतकर्तालाई डुबायो तर सरकारले पनि ती बचतकर्ताको बचत सुरक्षाका लागि केही पहल गरेन । अहिले पनि सरकारको यसतर्फ ध्यान गएको देखिँदैन । अहिले त रकम फिर्ता नगर्ने सहकारी विरुद्ध उजुरी हाल्न सम्बन्धित निकायमा जाँदा एउटा निवेदन लेखेको ५ सयदेखि ३५ सय तिर्नुपर्छ भने एउटा फोटोकपी गरेको २५ रुपैयाँ तिर्नुपर्छ ।

यसरी सहकारीबाट डुबेका पीडित बचतकर्तालाई लेखनदास र पसलहरूले पनि ठगिरहेका छन् । पाँच रुपैयाँमा गरिने फोटोकपी २५ रुपैयाँ तिरेर गर्नुपरिरहेको छ त सरकारले सित्तैमा निवेदन लेख्न कर्मचारी राखेपनि लेखनदासलाई महँगो शुल्क तिरेर निवेदन लेख्नुपरिरहेको छ ।
तर, यस्तो अवस्थामा पनि सरकार सहकारीमाथि कारबाही गर्न कदम चाल्दैन । पछिल्लो समय मुलुकका अधिकांश सहकारी भागिसकेका छन् । यता बाँकी रहेका कतिपय सहकारी पनि डुब्ने अवस्थामा छन् । यसरी सहकारीहरू एकाएक बचतकर्तालाई डुबाएर भाग्दा अहिले पनि विज्ञापन बोर्ड सहकारीमा रकम नराख्नुस् भनेर सर्वसाधारणलाई सचेत गराउँदैनन् ।

अहिले आफ्नो बचत फिर्ता नगर्ने सहकारी विरुद्ध उजुरी हाल्न बचतकर्ताहरू सहकारी विभाग धाउँछन् । विभागले उनीहरूलाई गाउँपालिका, नगरपालिका, प्रदेश सरकार तथा प्रहरी चौकी जान भन्छ । तर, त्यहाँ पनि उजुरी नलिएपछि उनीहरू निराश भएका फर्कन्छन् । पछिल्लो समय अधिकांश सहकारी संघसंस्थाका अध्यक्ष, सञ्चालक मुलुक नै छोडेर भागिसकेको सुनिन्छ । नभागेकाहरू पनि मोबाइलको स्विच बन्द गरेर लुकेर हिँडेका छन् । सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारी रातारात फरार भएपछि अहिले घरधनीहरू आफ्नो घर खाली गर्न वडा, नगरपालिका, प्रहरी चौकीमा उजुरी दिइरहेका छन् ।

घरधनीहरू आफूहरूले एक वर्षदेखि भाडा नपाएको गुनासो गर्छन् । तर, बचतकर्ताले आक्रोशमा आफ्नो घर तोडफोड गर्ने डरले भाडा मिनाहा गरेर उनीहरू घर खाली गर्न लागिपरेका छन् । अहिले भुरादेखि बुढासम्मले सहकारी ठग, चोर भनेर थाहा पाइसकेका छन् । एक वर्षअघि मै हुँ भन्ने सहकारी संघसंस्था पनि अहिले रातारात भाग्न बाध्य भएको छ । यता आफ्नै भवन भएको दाबी गर्ने सहकारीहरू पनि डुबेर भागेका छन् । सहकारी डुब्नुको एउटै कारण छ । यिनीहरूले आँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे ।

तीन वर्षअघि आनाको करोडको किनेको जग्गा अहिले लाखमा बिक्री हुँदैन । ३२ सयमा किनेको सेयर सय रुपैयाँमा बिक्री हुँदैन त ५० लाखमा किनेको गाडी लाख रुपैयाँमा बिक्री हुन्न । बजारमा पूरै मन्दी आएको छ । घरजग्गा, गाडी र सेयरको कारोबार ठप्प छ । यता मानिसहरूले पनि बैंक तथा वित्तीय संस्थाबाट आफ्नो रकम निकालेर घर घरमा लुकाएका छन् । यसले अहिले बजारमा पाँच सय र हजारको नोट हाहाकार छ । यस्तो अवस्था उत्पन्न हुँदा पनि सरकारले पाँच सय र हजारको नोट प्रतिबन्ध गरेर दुई हजारको नयाँ नोट निकालेन ।

पछिल्लो समय सहकारी डुबेर भागेको देखेपछि बैंकका बचतकर्ताको लाम छ । मुलुकका १७ वटा नाम चलेका बैंकमा पनि तरलताको अभाव रहेको सुनिएको छ । साथै, यी बैंक अब धेरै समय टिक्दैन भनेर कतिपयले भन्न थालिसकेका छन् । अहिले हरेक व्यापारव्यवसायमा मन्दी छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव छ । किनकि पैसा जति सबै घरजग्गा, गाडी र सेयरमा फ्रिज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *