मुख्यमन्त्रीले भेट्न समय नदिएपछि जनआन्दोलन पीडितले पठाए हुलाकबाट चिठी

पोखरा । हुलाक र मुख्यमन्त्री कार्यालय २ मिनेटको दुरीमा छ । जनआन्दोलनका घाइते र शहिद परिवारले पटक पटक मुख्यमन्त्रीलाई भेट्न प्रयास गरे । विभिन्न सूत्र लगाएर मुख्यमन्त्रीको समय मागे । तर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समय नदिएको उनीहरूको आरोप छ ।

मुख्यमन्त्रीले समय नदिएपछि पीडित परिवारले हुलाक मार्फत पत्र पठाएर आफ्ना माग राखेका छन् । ‘अहिले स्थानीय तह, प्रदेश र संघमा सरकार निर्माण भएका छन् । नेपाली जनताले सिंहदरबारको अधिकार गाउँ-गाउँमा पाएकोमा हामी हर्षित छौँ,’ उनीहरूको मागपत्रमा उल्लेख छ, ‘तर नयाँ सरकार बनेपछि लोकतान्त्रिक गणतन्त्रात्मक योद्धा लाई स्मरण नगरिएकोमा हामी चिन्तित छौँ । खोला तर्ने लौरो बिर्सने जस्तो भएको छ ।’

समितिका अध्यक्ष शेखर गौतमले आफ्ना माग सुन्न मुख्यमन्त्रीले आनाकानी गरेका बताए । ‘धेरै जना मार्फत भेट्ने प्रयास ग-यौं । मुख्यमन्त्री ज्यूले समय दिनुभएन,’ उनले भने, ‘केही उपाय नलागेपछि हुलाक मार्फत पत्र पठाएका हौँ ।’ उनीहरूले जनआन्दोलनका घाइतेको उपचारका लागि दिइएको उपचार खर्च व्यवहारिक नभएकोले पुनः मूल्याङ्कनको माग गरेका छन् ।

परिचय पत्रको आधारमा घाइते र घाइते आश्रित परिवारलाई निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारी र यातायातमा सुविधा मागेका छन् भने लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रमका लागि सरकार मार्फत विशेष बजेट विनियोजन गर्न सुझाएका छन् । जनआन्दोलनका सहिद परिवार र घाइतेहरूलाई प्रदेशस्तरीय महत्त्वपूर्ण कार्यक्रमहरूमा नियमित सहभागी गराउनुपर्ने र गण्डकी प्रदेश स्तरीय सहिद पार्क निर्माण गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *