केरला आइपुग्यो मनसुनी वायु, नेपाल कहिले पुग्छ ?

काठमाडौं । केही दिनदेखि भइरहेको उखरमाउलो गर्मी तत्काल नघट्ने देखिएको छ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय नहुँदा तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी नघट्ने देखिएको हाे ।

मौसमविद् रोजन लामिछानेका अनुसार तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले अझै चार/पाँच दिन गर्मी यस्तै रहने छ । तराईका धेरैजसो जिल्लामा चार/पाँच दिन नै तातो हावा ‘लू’ चल्ने अनुमान छ । पहाडी केही जिल्लामा पनि ठूलो पानी पर्ने सम्भावना नरहेको तर एक/दुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्न सक्ने उनले जानकारी दिए । फाट्टफुट्ट वर्षाले तत्काललाई केही शीतल दिए पनि तापक्रम नघट्ने भएकाले गर्मी फेरि उस्तै हुने मौसमविद् लामिछानेले बताए । यसपालि मनसुन पनि ढिलो गरी भित्रिने सम्भावना रहेकाले गर्मीको अवधि लम्बिने उनको भनाइ छ ।

तराईका धेरैजसो ठाउँमा लगातार एक हप्तादेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस छ । कतिपय ठाउँमा अधिकतम तापक्रम ४० डिग्री नकटे पनि न्यूनतम तापक्रम र तातो हावा चल्दा उखरमाउलो गर्मी छ । महाशाखाको विवरणअनुसार बिहीबार सबैभन्दा बढी तापक्रम बारा जिल्लाको सिमरामा ४२.६ डिग्री सेल्सियस पुगेको छ । यसपछि क्रमशः भैरहवा र जनकपुरमा समान ४२.४, नेपालगन्जमा ४१.८, विराटनगरमा ४१.५ र धनगढीमा ४०.५ डिग्री सेल्सियस छ। बिहीबार काठमाडौं उपत्यकाको अधिकत तापक्रम समेत ३२.८ डिग्री सेल्सियस पुगेको महाशाखाको विवरणमा उल्लेख छ । आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम समेत २० डिग्रीमा उक्लिएको छ ।

केरला आइपुग्यो मनसुनी वायु
यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । मौसमविद् लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ एक दुई दिन अघि वा पछि पनि हुन सक्ने उनको भनाइ छ ।

मौसमविद् लामिछानेले भने, ‘यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । केरला आइपुगेको वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ एक दुई दिन अघिपछि पनि हुन्छ ।’

अहिले भारतको केरलाको आकाशमा बादलहरू निर्माण भइरहेको उनले बताए । मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो । सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा मनसुनी वायु भित्रने गर्थ्यो । मनसुन वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग पनि निर्भर रहने उनको भनाइ छ । गतवर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fifteen =