बजेट बनाउँदा अनाधिकृत व्यक्तिलाई प्रवेश गराइयो : एमाले

प्रतिनिधि सभा बैठकमा गत जेठ १४ गते बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयमा अर्थमन्त्रीको जवाफ माग गरिएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सत्तारुढ र विपक्षी दलका सांसदहरूले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेशको सम्बन्धमा प्रश्न उठाएका हुन् ।

बैठकमा बोल्दै नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले बजेट बनाउँदा निश्चित मानिसहरू मात्रै प्रवेश गर्न पाउने प्रावधान भए पनि अनाधिकृत मानिसहरूको प्रवेश भएको बताए । उनले अनावश्यक मानिसहरू बाहिर, भित्र गरेर गोप्य सूचना चुहाएको बताए । उनले अनाधिकृत मानिसको प्रवेश बारे अर्थमन्त्रीको जवाफ माग गरे ।

उनले भने, ‘आज विभिन्न छापाहरूमा, विभिन्न मिडियाहरूमा हामीले हेर्दैछौँ । अहिलेपनि बजेटको भाषण हुँदै थियो त्यसको अघिल्लो दिन मध्य रातमा फेरि त्यहाँ पनि बिचौलियाहरूलाई लाने काम भएको छ । बिचौलियाहरूलाई राखेर करका दर तलमाथि पार्ने काम भएको छ भन्ने कुरा हामीले सुनिरहेका छौँ । जब बजेट बन्दै रहन्छ, बजेट बनाउने ठाउँमा निश्चित मान्छेहरू बस्ने प्रावधान गरिएको हुन्छ । तर त्यहाँ मन्त्रीका स्वकीय सचिवदेखि लिएर अन्य आधिकारिक, अनाधिकृत सबै खालका मान्छेहरू भित्र, बाहिर भएको हुन्छ । सबैले भित्रबाट फोन बाहिर लगाइरहेका हुन्छन् । भित्र, बाहिर गरेका हुन्छन् । त्यहाँ कुनै सूचनाको गोपनीयता कायम गरिएको हुँदैन । अर्थमन्त्रीले बजेट भाषण गर्ने बेलामा उहाँले ल्याएको ब्रिफकेसमा रातो रिबनले बाँधिएको हुन्छ । यसको अर्थ पनि होला नि । यहाँ रिबन बाँधेर के गर्ने बजेट बनिरहेको हुन्छ जहाँ, त्यहाँ बिचौलियाहरू बसेका हुन्छन् । बिचौलियाहरूको इन्ट्रेष्टमा बजेट बन्ने काम भएको हुन्छ भन्ने कुरा हामीले सुन्नुपर्दा यो भन्दा दुर्भाग्यपूर्ण के हुन्छ ? यो यर्थाथ के हो यसको विषयमा अर्थमन्त्रीले रोष्टममा आएर चित्त बुझ्ने गरी जवाफ दिनुप¥यो । हामीलाई चित्त बुझेन भने संसदीय छानविन समिति बनाएर यसलाई छानविन गरेर अगाडी बढ्नुपर्छ भन्ने पक्षमा हामी छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *