गण्डकी सरकार नयाँ खेलाडी खोज्न गाउँ पस्ने

पोखरा । गण्डकी सरकारले खेलकुदलाई विशेष प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत नयाँ खेलाडी खोजीका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘सबैका लागि खेलकुद भन्ने नारालाई सार्थकता दिन र गाउँगाउँमा रहेको नवप्रतिभावान खेलाडीलाई अवसर सिर्जना गर्न स्थानीय तहसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ,’ नीति कार्यक्रममा भनिएको छ ।

खेलाडी उत्पादन, छनौट र प्रशिक्षण सम्बन्धी एकीकृत योजनाका लागि “खेल्छ गण्डकी” कार्यक्रमलाई निरन्तरता दिइएको छ । यस्तै, गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न सुविधा सम्पन्न क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना अघि सारिएको छ । पोखरामै अन्तर्राष्ट्रियस्तरको कभर्डहलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने सरकारको घोषणा छ ।

गण्डकी सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याउने निकाय/व्यक्तिहरूलाई गण्डकी खेलकुद पदक प्रदान गर्ने नयाँ कार्यक्रम ल्याएको छ । ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमलाई निरन्तरता दिएको छ । मुस्ताङमा अन्तर्राष्ट्रिय स्तरको उच्च उचाई खेल मैदान (हाइ अल्टिच्युड) निर्माण गर्ने कार्यक्रम ल्याइएको छ ।

अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको कार्यक्रम ल्याएपनि कहाँ बनाउने भन्ने टुंगो छैन । पोखरा रंगशालाभित्रको क्रिकेट रंगशाला राष्ट्रिय खेलकुद परिषद् मातहत छ । प्रदेश सरकारले सोही रंगशालालाई व्यवस्थित बनाउन चाहेको छ । तर राखेपले उक्त रंगशालामा प्रदेशलाई प्रवेश नदिने बुझिएको छ । ‘रंगशालाभित्रको क्रिकेटलाई राम्रो र व्यवस्थित बनाउने योजना थियो । यो सुनेर राखेप सदस्य सचिवले उक्त रंगशाला संघ मातहत भएको र रकम लगानी नगर्न भन्नुभएको छ,’ मुख्यमन्त्री निकट स्रोत भन्छ, ‘क्रिकेटका जानकारहरूले अन्य क्षेत्रहरू पनि देखाइरहनुभएको छ ।’

प्रदेश सरकारले यसअघि पशुपति घाटमा क्रिकेट रंगशाला बनाउने गरी बजेट विनियोजन गरेको थियो । सम्भाव्यता अध्ययन सकिएको छ । जग्गा प्राप्ति भैसकेको छ । तर खोला किनारमा भएकोले बाढीको जोखिम रहेको भन्दै केही रकम लगानी भैसकेर पनि उक्त कार्यक्रमबाट सरकारले हात झिकेको छ । अहिले लेखनाथ क्षेत्रमा अर्को जग्गाको पहिचान भएको छ । तर थप प्रक्रिया अघि बढेको छैन । केहीले पोखरा १५ मा रंगशाला बनाउन सकिने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *