अर्काको मृत्यु कुरेर बसिरहेछन् मृगौला पीडित

पोखरा । गण्डकी प्रदेशमा हाल ९ सय जना भन्दा बढी मृगौला पीडित छन् । जसलाई नियमित डायलायसिस गर्नुपर्ने बाध्यता छ । प्रदेशभित्र ५ सय ४६ जनाले मात्रै नियमित डायलायसिस सेवा पाएका छन् । अझै ३ सय ३ जना बिरामी उपचारबाट बाहिर छन् ।

‘यो डरलाग्दो तथ्यांक हो । ३ सय भन्दा बढी बिरामीले उपचार पाउन कि पुरानो बिरामी निको हुनुपर्छ कि मृत्यु हुनुपर्छ,’ स्वास्थ्य सचिव विनोदविन्दु शर्मा भन्छन्, ‘यस्तो खबर सुनाउनुपर्दा हामी आफैँ दुखी छौँ । यसको समाधानको पहल हाम्रो तर्फबाट भइरहेको छ ।’

सरकारले डायलायसिसका लागि पालो कुर्नुपर्ने बाध्यतालाई शून्यमा झार्ने नीति लिएको छ । ‘गण्डकीमा डायलायसिस सेवा: नागरिकको स्वास्थ्यमा टेवा भन्ने अवधारणा अनुसार डायलायसिस सेवालाई झन्झटमुक्त बनाउँदै पालो कुर्नुपर्ने अवस्थालाई शून्यमा झारिनेछ,’ आगामी वर्षको नीति तथा कार्यक्रममा भनिएको छ ।

मिर्गौला डायलाइसिसको प्रतीक्षामा रहेका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा विस्तार गरिएको सरकारी प्रतिवेदन छ । अब हरेक जिल्ला अस्पताल र पोखराको सङ्क्रामक रोग अस्पतालमा डायलायसिस सेवाको बेड थप गर्ने कार्यक्रम सरकारले ल्याएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्षभित्र सबै बिरामीले डायलायसिस सेवा पाउने गरी सरकारले कार्यक्रम बनाउने बताए । ‘कोही बिरामी उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य सरकारले गर्नैपर्छ,’ उनले भने, ‘त्यसको लागि सरकारले गर्नुपर्ने आवश्यक सबै काम गर्नेछ ।’ केही समयअघि पनि सरकारले डायलायसिस मेसिन खरिदको प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *