तारेख असार २९ गतेलाई सरेपछि भोलि दक्षिण अफ्रिका जाँदै सन्दीप


नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागी अन्तिम तयारी गर्न दक्षिण अफ्रिका जाने भएका छन्।
आफूविरुद्धको बलात्कार मुद्दाको तारेख पछि धकेलिएसँगै उनी सोमबार दक्षिण अफ्रिका जान लागेका हुन्। उनी प्रशिक्षक मोन्टी देसाइसँगै अफ्रिका जाने तयारीमा छन्। तर मोन्टीको भिसा आइसकेको छैन।
सन्दीपलाई क्रिकेट खेल्न जान दिनका लागि जिल्ला अदालत काठमाडौंले उनको तारेख झण्डै डेढ महिना पछि धकेलेको छ।
यसबीचमा किशोरीले माग गरेको अन्तरिम क्षतिपूर्तिको निवेदनको टुंगो लाग्ने र असार २९ पछि फैसलाका लागि पेशी तोकिने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए।
सोमबार साँझ दक्षिण अफ्रिका पठाउने तयारी रहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए।
नेपालले ८ जुनमा स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा वार्मअप खेल खेल्नेछन् । दक्षिण अफ्रिकामै १० जुनमा नेदरल्यान्ड्ससँग वार्मअप खेल खेल्नेछ । त्यसपछि नेपाल जिम्बावे जानेछ ।
जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ । प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।
हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह बी बाट आउने तीन टोलीले समूह ए का तीन टोलीसँग खेल्नेछन् ।
अन्तिम ६ मा परेको अवस्थामा भने नेपालको जिम्बाबे बसाई थप लम्बिने छ।
त्यसपछि शीर्ष दुई टोली भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
