गण्डकी सरकारले वर्षैभरी गाडी नकिन्ने, भवन नबनाउने

पोखरा।गण्डकी सरकारले आगामी आर्थिक वर्षमा एउटा पनि गाडी नकिन्ने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारहरुसँग कुरा गर्दै मुलुकको आर्थिक अवस्था कमजोर रहेकोले सरकारले विलासिताका शीर्षकमा खर्च नगर्ने घोषणा गरेका हुन् ।

‘प्रदेश सरकारले आउँदो वर्ष एउटा पनि चारपांग्रे गाडी किन्दैन । हामी भवन निर्माण पनि नगर्ने योजनामा छौं,’ उनले भने, ‘बाध्यकारी अवस्था आएपनि भवन हाम्रो अन्तिम प्राथमिकता हुनेछ । आगामी वर्ष उत्पादनकै क्षेत्रमा बढी जोड दिन्छौं ।’

उनले प्रदेशको बजेट समेत घटेर आउन सक्ने भन्दै अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गरिने बताए । ‘सरकारले उत्पादन केन्द्रीत बजेट बनाउनुपर्ने बाध्यता छ । रोजगारी चाहिएको छ,’ उनी अघि भन्छन्, ‘अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदैन । कृषिको उत्पादनमा र पर्यटनमा सरकारले प्राथमिकता दिने छ ।’

आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदै छ । त्यसैका लागि सञ्चार नीतिबारे छलफल गर्न पत्रकारसँग अन्तरक्रिया गरिएको हो । छलफलका क्रममा पत्रकारहरुले बजेटलाई प्रदेशको समृद्धीसँग जोड्न र आर्थिक मन्दीलाई सामान्य अवस्थामा ल्याउनका लागि केन्द्रित गर्न सुझाव दिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *