प्रचण्डलाई मध्यप्रदेशका मुख्यमन्त्री चौहानद्वारा इन्दौरमा स्वागत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका छन् । नयाँदिल्लीबाट जहाजमा इन्दौर अवतरण गरेका प्रचण्डलाई मुख्यमन्त्रीले स्वागत गरेका हुन् ।

प्रधानमन्त्रीको स्वागतमा ढाकाटोपीमै प्रस्तुत भएका मुख्यमन्त्री चौहानले भारतको सबैभन्दा स्वच्छ शहर तथा देवी अहिल्याएको पत्रित्र नगरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

‘नेपाल र भारत प्राचीन राष्ट्र हुन्,’ स्वागत कार्यक्रममा मुख्यमन्त्री चौहानले प्रचण्डसँग भनेका छन्, ‘हाम्रो समृद्ध इतिहास रहिआएको छ । कयौँ पटक लाग्छ कि शरीर दुई छन् तर हाम्रो संस्कृति, सभ्यता र संस्कार एकै छ । बाबा पशुपतिनाथको नगरी काठमाडौँदेखि बाबा महांकालको नगरी उज्जैनसम्म साझा विरासत रहेको पनि छ । मध्यप्रदेशवासी अभिभूत छौँ, आफ्नो मित्र राष्ट्र नेपालका प्रधानमन्त्री प्रचण्डजीको स्वागत गर्न पाउँदा । आज हामीले मध्यप्रदेशको गौरवशाली परम्पराका रुपमा माननीय प्रधानमन्त्री प्रचण्डको स्वागत गरेका छौँ । म बाबा पशुपतिनाथसँग प्रार्थना गर्छु, दुवै राष्ट्र सदैव विकास, कल्याण र आपसी सद्भावको पथमा निरन्तर प्रगति गरुन् ।’

इन्दौरमा स्वागत ग्रहण गरेपछि प्रधानमन्त्री प्रचण्डको टोली सडकमार्ग हुँदै उज्जैन पुगेको हो । त्यहाँस्थित बाबा महांकालको मन्दिरमा प्रधानमन्त्री प्रचण्डले नेपालबाट लगिएको १०८ केजी रुद्राक्ष चढाएर पूजा आरधना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *