प्रदेश सभामा नामाकरणमा सत्ता पक्ष र प्रतिपक्षको एक स्वर : वार्तालाई सार्थक बनाऊँ

विराटनगर । प्रदेश सभाको बर्खे अधिवेशनको दोस्रो बैठकमा बोल्ने सांसदहरूले तत्काल वार्ताबाट कोशी प्रदेशको नामकरण पछि उत्पन्न समस्याको समाधान गर्न आग्रह गरेका छन् । प्रदेश सभाको बुधबारको बैठकमा प्रदेश सभा सदस्यहरूले अहिलेको अन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान निकाल्न आग्रह गरे ।

प्रदेश सभा सदस्य किशोरचन्द्र दुलालले नामकरण पछि उत्पन्न परिस्थितिलाई वार्ताबाट समाधान गर्न आग्रह गरे । उनले प्रदेशको नामकरणपछि प्रदेशका नेताहरूको दोहोरो भूमिका हुनु नहुने बताए । उनले तेह्रथुमको ढाका कपडा प्रवर्द्धनका नीति लिइनु पर्नेमा जोड दिए । प्रदेश सघा सदस्य केदार कार्कीले विपद् व्यवस्थापन नहुँदासम्म समृद्धि नआउने बताए । कोशी प्रदेश नामाकरणपछि उत्पन्न परिस्थितिलाई वार्ता र संवादबाट समाधान गरेर अघि बढ्न आग्रह गरे ।

सांसद खिनु लङ्वा लिम्बूले नागरिकको भावना र जनचाहना विपरीत बहुमतले पारित भएको प्रदेशको नामकरण पछि, लुकेर, सुरक्षा लिएर हिँड्नुपर्ने अबस्था आएको बताए । अर्का सांसद जयप्रकाश चौधरीले कोशी प्रदेशको पक्षमा ८२ जनाले मतदान गरेकोमा सबै जिम्मेवार बन्नु पर्ने बताए । वार्ताको आह्वान गरेको छ सबै दलहरूले सरकारलाई सहयोग गर्नु पर्छ, उनले भने, नामकरणमा हस्ताक्षर गर्ने अनि फरक अभिव्यक्ति दिन भन्दा समाधान गरेर जानू पर्छ ।

उदयपुरका संसद नारायणबहादुर मगरले कोशी कटान समस्या समाधान गर्न सरकारले उपलब्ध गराएको २ करोडले काम हुँदै गरेको भए पनि प्रदेश सरकार रहेको भन्ने अनुभूति दिलाउनु पर्नेमा जोड दिए । धनकुटाका सांसद निरन राईले नामकरण पछि उत्पन्न समस्या समाधानका लागि सरकारले गरेको वार्ताको आव्हानलाई सकारात्मक रूपमा लिएर सहयोग गर्नु पर्ने बताए ।

प्रदेश सभा सदस्य मिना श्रेष्ठले बहुमतको निर्णयलाई ८२ जनाले नै जिम्मेवारी लिएर समस्या समाधानमा लाग्न आग्रह गरिन् । उनले एमालेले हिंसा निम्त्याउन खोजेको भन्दै प्रदेश सभा भित्र गलत प्रचार गर्ने काम तत्काल रोक्न र त्यस्ता अभिव्यक्ति फिर्ता लिन आग्रह गरिन् । यशोदा कायस्थले युवालाई स्वदेशमै रोजगारी दिने खालको नीति लिन उनले सरकारलाई आग्रह गरिन् ।

उनले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, स्थानीय तह नै ब्लड बैक स्थापना गर्नुपर्नेमा जोड दिइन् । रामकुमार खत्रीले कटारी अस्पताल १५ बेडको अस्पताललाई ५० बेडको प्रादेशिक अस्पताल बनाउनु पर्ने र घुर्मी कटारी सडक सतरोन्नति गर्नुपर्ने माग राखे ।

प्रदेश सभा सदस्य विद्या चाम्लिङ राई, गीतारानी महतोले कृषि क्षेत्रलाई व्यवस्थित गरी कृषिलाई प्राथमिकता दिन आग्रह गरिन् । सांसद मोहन मानन्धरले मेची अस्पतालको नाम परिवर्तन र आयुर्वेदिक अस्पताललाई पूर्ण सञ्चालन ल्याई स्तरोन्नति गर्न आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *