संघले घटायो गण्डकीको ३ अर्ब अनुदान, प्रदेशमा आगामी बजेट कति ?

पोखरा । गण्डकी सरकारलाई दिँदै आएको ३ अर्ब अनुदान संघले यसपालि काटिदिएको छ । आर्थिक वर्ष २०७९/०८० को तुलनामा आगामी वर्ष २०८०/०८१ मा करिब ३ अर्ब रुपैयाँ कम अनुदान पठाएको हो ।

चालू वर्षका लागि १६ अर्ब ५४ करोड ३२ लाख अनुदान पठाएको संघले आगामी वर्षका लागि १३ अर्ब ४५ करोड ३५ लाख पठाउने बजेटमा उल्लेख छ । सबैभन्दा बढी सशर्त अनुदानमा २ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ घटाएको छ । समानीकरण अनुदानमा ३० करोड ५४ लाख घट्ने भएको छ । विशेष अनुदानमा १६ करोड कम बजेट आउनेछ भने समपूरक अनुदानमा ३० लाख बढेको छ ।

आगामी वर्षका लागि समानीकरण अनुदान ७ अर्ब ६२ करोड २५ लाख, सशर्त अनुदान ४ अर्ब ४४ करोड १५ लाख हस्तान्तरण हुने अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए । उनका अनुसार विशेष अनुदान शीर्षकमा ७० करोड र समपूरक अनुदानमा ८४ करोड गण्डकीले प्राप्त गर्नेछ । चालू वर्षका लागि समानीकरण अनुदान ७ अर्ब ९२ करोड ७९ लाख, सशर्तमा ६ अर्ब ९१ करोड ८३ लाख, विशेषमा ८६ करोड र समपूरकमा ८३ करोड ७० लाख हस्तान्तरण गरिएको थियो ।

यस्तै, पालिका तर्फको अनुदान पनि केही कम भएको छ । चालू वर्ष भन्दा आगामी वर्षको सिलिङमा २३ करोड १ लाख कम बजेट हस्तान्तरण भएको छ । चालू वर्षका लागि अघिल्लो वर्षको बजेट वक्तव्य मार्फत ३५ अर्ब ४३ करोड ८२ लाख विनियोजन भएको थियो भने आगामी वर्षका लागि ३५ अर्ब २० करोड ८१ लाख विनियोजन भएको छ ।

योसँगै गण्डकी सरकार र यहाँका ८५ वटा पालिकामा आगामी वर्ष ४८ अर्ब ६६ करोड १६ लाख हस्तान्तरण हुने भएको छ । यसबाहेक अन्य महत्त्वपूर्ण कार्यक्रमहरू भने समेटिएका छन् । संघ सरकारले वित्तीय हस्तान्तरण खुम्च्याएपछि प्रदेश र स्थानीय तहका बजेट समेत घट्ने भएका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ३२ अर्ब भन्दा कुनै हालतमा बजेट बनाउन नसकिने बताए । आन्तरिक आम्दानी समेत नभएको र केन्द्रले अनुदान घटाएका कारण बजेट घट्ने उनले बताए । गण्डकीले चालू वर्षका लागि ३५ अर्ब ९० करोडको बजेट ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *