कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी भाइबुहारीको मृत्यु, चालक पनि बिते

काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका-८ ठुडिया खोला नजिकै भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका  ३७ वर्षीय सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका-५ बस्ने करिब ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । घाइते भएका डा. सन्जु खड्का र कारका चालक सुवास अधिकारीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक सन्जु उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी हुन् । पेसाले डाक्टर रहेकी सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काकी श्रीमती हुन् । डम्बर उपप्रधानमन्त्री खड्काका माइला भाइ हुन् ।

बसमा यात्रारत ६ यात्रु सामान्य घाइते भएका छन् । प्रहरीले बस नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ । कार र बस दुवै तीव्र गतिमा भएका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *