अदालतले फैसला नगर्दा सन्दीप लामिछाने टोलीसँग दक्षिण अफ्रिका जान पाएनन्


जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसलामा ढिला गर्दा सन्दीप दक्षिण अफ्रिका जान नपाउने भएका छन्।
काठमाण्डौं जिल्ला अदालतमा मंगलबार पेशी तोकिएको थियो। मंगलबार राति नै नेपाली टोली दक्षिण अफ्रिका प्रस्थान गर्दै छ। राति २ बजे टोली जाने भएपनि सन्दीप उक्त टोलीमा हुने छैनन्। यसअघि सन्दीपलाई पनि टोलीमा समेटेर टोली घोषणा गरिएको थियो।
तर जिल्ला अदालतको ढिलाई र तत्काल तारेख तोक्दा सन्दीप जान नपाउने भएका हुन्।
अदालतले आगामी सोमबार उपस्थित हुन सन्दीपलाई तारेख थमाएको छ। तर मुद्दाको फैसला भने अझै पनि अनिश्चित बनेको छ। अर्को पेशी कहिले तोकिने भन्ने निश्चित छैन।
न्यायाधीश शंकरबहादुर राईले किशोरीले माग गरेको अन्तरिम क्षतिपूर्तिको विषयमा अदालतले जेठ १० गते दिएको आदेश बमोजिमको कार्य कारबाहीकै अवस्थामा रहेकाले र उक्त निवेदनमा भएको पूर्व आदेशबमोजिमको कार्य सम्पन्न भएपछि मात्रै पेशी तोक्न भनिएको छ।
सन्दीपलाई बलात्कारको आरोप लगाउने किशोरीले अन्तरिम क्षतिपूर्ति माग गर्दै निवेदन दिएकी छन्। त्यसैलाई कारण देखाउँदै न्यायाधीशले मंगलबार पनि फैसला नगरेका हुन्।
फैसला नभएकै कारण सन्दीप टिममा परे पनि नजाने भएका छन्।
उनले मंगलबार नै टोलीलाई शुभकामना दिँदै टोलीले राम्रो गर्नेमा विश्वास व्यक्त गरेका छन्।
नेपालले जिम्बावेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग अभ्यास खेल खेल्नेछ। विश्वकप छनोट ३ असारदेखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा टेष्ट मान्यताप्राप्त घरेलु टिम जिम्बाव्वेको सामना गर्नेछ । ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।
उक्त खेलमा भने सन्दीप सहभागी हुने नहुने भन्ने निश्चित भइसकेको छैन।
