केन्द्रीय कार्यसमितिको बैठक नबोलाए कांग्रेसको विशेष महाधिवेशन बोलाउने चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक नबोलाए विशेष महाधिवेशन बोलाउन बाध्य हुने चेतावनी दिएका छन् ।
मंगलवार काठमाडौँमा आयोजित नेपाली कांग्रेस रूपान्तरण अभियानको बागमती प्रदेश विशेष कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आचार्यले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरे ।
उनले पार्टीको विधान अनुरूप हरेक २ महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने भएपनि १० महिनासम्म बैठक बस्न नसकेको बताए । उनले पार्टीका उपसभापति र महामन्त्रीहरूले समेत पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरिएपनि नेतृत्वले नसुनेको बताए । उनले पार्टीको औपचारिक समितिका बैठकहरू नबोलाएमा विधानले दिएको अधिकार प्रयोग गरी विशेष महाधिवेशन बोलाइने बताए ।
उनले भने, ‘नेताहरूलाई विनम्रतापूर्वक भन्छौँ, पार्टीका औपचारिक प्लेटफर्महरू यदि सञ्चालनमा ल्याइँदैन । बेलैमा मिटिङहरू बसाइँदैन । केन्द्रीय समितिको बैठक बस्दैन । वर्षमा एकपटक बोलाउनुपर्ने महासमितिको बैठक बस्दैन । पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरेको ६ महिनाभित्रमा नीति अधिवेशन गर्ने भनेको कुराको यदि नीति अधिवेशन पनि बोलाइँदैन भने फेरि विधानले दिएको अधिकारहरू प्रयोग गरेर हामी भोलि विशेष महाधिवेशन समेत बोलाउन बाध्य हुनेछौँ ।’
उनले पार्टीले भ्रष्टाचारका कुराहरूलाई ढाकछोप गर्दै हिँडे आगामी दिनमा कठिनाइ हुने बताए । कांग्रेस बिग्रिन र सिद्धिन लागेकोले भन्दै उनले पार्टीलाई सो अवस्थाबाट जोगाउन रूपान्तरण अभियान चलाएको उल्लेख गरे । आफूहरूको अभियान काँग्रेसको चिन्ता गर्नेहरूको अभियान भएको स्पष्ट पारे ।
उनले भने, ‘एउटा निष्कर्षमा, समाधानमा जानका लागि पार्टीलाई जबरजस्त आवश्यकता भइसक्यो । अब यही गतिविधिबाट, यही हिँडाइबाट, यही ढाँचाबाट या भ्रष्टाचारका कुराहरूमा पनि हामी ढाकछोप गर्दै हिँड्ने, पार्टीले एउटा प्रस्ट अभिव्यक्ति नदिने, यही ढङ्गले हिँड्यौँ भने जनताका बीचमा बस्नुपर्ने पार्टी र जनताको नजरमा दिनहुँ व्यवहार गर्नुपर्ने पार्टी साथीहरूलाई कठिनाइ हुनेछ । गाह्रो हुनेछ । यसले पार्टी दिनदिनै कमजोर बनाउँदछ छ । त्यस कारण वास्तवमा यो कुनै गुटको मिटिङ होइन । कुनै गुटको अभियान होइन । काँग्रेस बिग्रिन लाग्यो । काँग्रेस सिद्धिन लाग्यो । काँग्रेस कमजोर गर्न थालियो । काँग्रेसलाई जनताले माया गर्न छोड्न थाले । र पार्टी सदस्यहरू पनि दिग्भ्रमित हुन थाले । अब यो अवस्थाबाट काँग्रेस जोगाउनुपर्छ । भोलिको भविष्य यही काँग्रेसबाट खोज्नुपर्छ । साथीहरूलाई यही भित्र आश्वस्त गर्नुपर्छ । जे–जे परिवर्तन गर्नुपर्छ, जे–जे सुधार गर्नुपर्छ । हाम्रै बीचबाट हामी नै गरौँ । हाम्रै काँग्रेसलाई राम्रो बनाऊँ । यसैलाई बलियो बनाऔँ । यहीँभित्र देश र जनताको भविष्य सुनिश्चित गरौँ भन्नका लागि यो अभियान अगाडी बढेको हो । त्यस कारण काँग्रेसको बारेमा चिन्ता गर्ने अभियान व्यक्तिको अभियान या गुटको अभियान हुँदैन । काँग्रेसको चिन्ता गर्ने अभियान नेपाली काँग्रेसको अभियान हो । त्यस कारण यो सिङ्गो कांग्रेसको आवश्यकता हो । सिङ्गो काँग्रेसको आन्दोलन अभियान हो ।’
आचार्यले आफूहरूले चलाएको अभियान कुनै एक व्यक्ति वा गुटको अभियान नभएको बताए ।








