सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजलाई पेसी


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आज बलात्कार आरोप लागेका लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको हो ।
यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएपनि लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममिति सम्बन्धी प्रमाण पुनः झिकाउन आदेश भएको थियो । मुद्दामा यही विषयको टुंगो नलाग्दा पटकपटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको थियो ।
सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन ।लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।
अन्तिम सुनुवाइका क्रममा सन्दीपले सफाइ पाउने कि दोषी ठहर भएर जेल जाने भन्ने टुंगो लाग्नेछ । तर आज अन्तिम फैसला हुन नसके सन्दीपलाई अप्ठेरो छ । मुद्दाकै लागि सन्दीप राष्ट्रिय टोलीसँग अफ्रिका जाने अनिश्चित भएको छ ।
