बजेटबाट गण्डकीले के पायो ?

पोखरा । सोमबार प्रस्तुत गरिएको बजेट वक्तव्यमा गण्डकी प्रदेशका केही महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएका छन् । पोखरा मुग्लीन सडक खण्डको ५० किलोमिटर सडक विस्तारको काम सम्पन्न गर्न ५ अर्ब ४२ करोड विनियोजन भएको छ ।

कालीगण्डकी कोरिडोर निर्माणका लागि १ अर्ब ५८ करोड छुट्याइएको छ भने बेनी जोमसोम सडक र कालीगण्डकी कोरिडोरमा थप ६० किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ । १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य अघि बढाउने सरकारी दाबी छ ।

पोखरामा हवाई इन्धन भण्डारण गृह निर्माण गर्ने, पोखरादेखि मनाङसम्मको पदमार्ग निर्माण गर्ने कार्यक्रम समेटिएका छन् । पोखरा–मनाङ पदमार्गलाई वैकल्पिक मार्गका रूपमा अघि सार्न प्रदेश र स्थानीय तहले नै सिफारिस गरेका थिए । पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनको व्यवस्था मिलाउने र त्यसका लागि अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डिलिङ शुल्क सहुलियत दिने सरकारी नीति छ ।

गण्डकी प्रदेश सरकारले निर्माण गरेको सरुवा रोग अस्पताल सहित डोटी, सुर्खेत र भरतपुरमा निर्माणाधीन सरुवा रोग अस्पतालका लागि ४६ करोड विनियोजन गरिएको छ । पोखराको रंगशाला सम्पन्न गर्ने, पोखरामा एकीकृत सहरी पूर्वाधार निर्माण गर्ने योजना अघि सारिएको छ । पोखरा, जनकपुर र लुम्बिनीमा सहरी पूर्वाधार बनाउन १ अर्ब १३ करोड छुट्याइएको छ । गोरखामा जनजातिको संस्कृति र जीवनशैली झल्किने जीवन्त संग्राहलय निर्माण गर्ने र गोरखाको निर्माणाधीन सभाहल पूरा गर्ने सरकारको घोषणा छ ।

डुम्रेदेखि बेसिशहर हुँदै चामे जोड्ने सडक स्तरोन्नति गर्न ३४ करोड छुट्याइएको छ भने तनहुँको ढकालटारमा बालसुधार गृह निर्माण गर्ने योजना अघि सारेको छ । नवलपुरको गैँडाकोटमा प्राथमिक ट्रमा सेण्टर स्थापना गर्ने, नवलपुरको प्रशासनिक केन्द्रमा एकीकृत कार्यालय तथा सहरी पूर्वाधार निर्माण गर्ने, पर्वतमा फलाम अन्वेषण तथा उत्खनन् कार्य अघि बढाउने, पर्वत, म्याग्दी र बागलुङको उत्तरी भागलाई पर्या–पर्यटन र मगर संस्कृति पर्यटन क्षेत्रको रूपमा विकास गर्ने प्रस्ताव छ ।

मध्येपहाडी लोकमार्गको पर्वत र बागलुङ खण्डका लागि विशेष बजेट विनियोजन भएको छ भने मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने कार्यक्रम समेटिएको छ ।यस्तै, बागलुङमा सहलगानीको खानेपानी आयोजना र मुस्ताङमा उत्पादित आलुलाई ब्राण्डिङ गर्ने योजनालाई बजेटले छोएको छ । ११ किलो छेपेटार बारपाक सडकमा ८० करोड छुट्याइएको छ ।

उक्त क्षेत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको क्षेत्र हो । यो सडक लामो समयदेखि निर्माणाधीन छ । अहिले पनि निर्माण सम्पन्न गर्न पर्याप्त बजेट नदिएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *