पूर्वराजालाई डाँडा कटाउने कर्णालीका मुख्यमन्त्रीको चेतावनी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई डाँडा कटाउने चेतावनी दिएका छन् । सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस समारोहमा बोल्दै उनले यस्तो छेतावनी दिएका हुन् ।

मुख्यमन्त्री शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ लक्षित गर्दै गणतन्त्रमाथि धावा बोल्नेलाई डाँडा कटाउने चेतावनी दिका हुन् ।

‘यो व्यवस्था दशकौं लामो संघर्षको जगबाट आएकाले हो,’ उनले भने, ‘डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस् ।’

उक्त समारोहमा बोल्दै दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तोष व्यक्त गरे ।

गत शनिबार कर्णालीको राजधानी सुर्खेतमा पूर्वराजा शाहको नागरिक अभिनन्दन गरिएको थियो । उक्त अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले पछिल्लो दुई दशकको शासन व्यवस्था सही र सार्थक नभएको बताएका थिए ।

राजाको उक्त अभिव्यक्तिपछि रुष्ट बनेका दलका नेताहरुले राजाप्रति आक्रामक अभिव्यक्ति दिएका हुन् । पूर्वराजाले जनता जिस्क्याएको र सक्रिय राजनीति गर्न खोजेको भन्दै उनीहरुले आलोचना गरेका थिए ।

उक्त समारोहमा बोल्दै कर्णाली प्रदेश प्रमुख तिलक परियारले गणतन्त्रको जगमा प्राप्त अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दे अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।

कांग्रेस नेता जीवनबहादुर शाहीले पनि राजतन्त्र फर्कन नसक्ने दाबी गरे । गणतन्त्रमाथि जतिसुकै प्रश्न उठे पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनको जिकिर छ ।

‘उँधो बगिरहेको कर्णालीमाथि फर्किन्न,’ शाहीले भने, ‘यो व्यवस्थालाई बलियो बनायो अग्रसर हुनुपर्छ ।’

नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न आग्रह गरे ।

‘पूर्वराजा पार्टीको अध्यक्ष बनेर बस्दा राम्रो हुन्छ,’ कँडेलले भने, ‘राप्रपालाई आफ्नै पार्टीको अध्यक्ष बनाएर हिँड्न आग्रह गर्दछु ।’

कँडेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए ।

‘सबैलाई एउटै डालोमा हाल्नु राम्रो हुँदैन,’ उनले भने, ‘एउटा राजा होइन, धेरै राजा भए भन्ने गरिएको छ । ज्ञानेन्द्र शाह जस्ता आएर कहिले हिन्दु धर्मका नाममा, कहिले अन्य केहीका नाममा गणतन्त्रमाथि धावा बोल्ने काम गरिरहेका छन् । त्यो स्वीकार्य छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *