लभ त पार्दिम् क्या ?

सुन्ने गरेको छु- ‘पढाइ र प्रेमको निम्ति उमेर तोकिएको छैन’ तर पनि उमेर १८ कट्यो पढाइ १२ पुग्यो, हातमा नागरिकता पनि आयो अब त केटीसँग बोल्न पनि डराउनु हुँदैन ‘लभ पार्दिम् क्या’ भन्ने जोस पो चल्न थाल्यो ।

हिजोसम्म घर मै बस्दा वाक्क लाग्थ्यो । आजकल कसैको बिहेमा जन्त जाँदा होस या कुनै कार्यक्रममा सहभागी जनाउँदा होस, ‘अब त तेरो पनि बेला भयो’ भनेको सुन्दा मैले पनि अरू कसैको लागि बेला भयो भन्ने पारिदिनको लागि मात्र भएपनि लभ त पार्दिम् क्या ?

धेरैपछि भेटिएका आफ्नाहरूले ‘पहिले त सानै थियौँ, अहिले त दारी जुँगा पालेर बिहे गर्ने भएछस् नि बाबु !’ भनेको सुन्दा त उनीहरूलाई खुसी बनाइदिनको लागि भए पनि लभ त पार्दिम् क्या ?

हिजो स्कुल पढ्दा क्यान्टिनमा कालो चिया पिएको पैसा तिर्न नसक्ने साथीले आज महँगो रेस्टुरेन्टमा गर्लफ्रेन्ड को र आफ्नो चियासँगै खाजाको बिल तिरेको देख्दा मैले पनि चियादेखि खाजा खाने हैसियत बनाउनको लागि भएपनि लभ पार्दिम् क्या ?

हिजो केटाकेटीले जस्तो कुरा गर्ने दाइ आज ‘अब त तेरो सिङ पलाउँदैन जुँगा आउँदैन बुझ्ने भइसकिस्’ भनेको सुन्दा त लाग्यो मैले पनि मेरो अबुझ पन लाई निखार्न को लागि मात्र भएपपनि लभ पार्दिम् क्या ?

एकजोर कपडा नफाटुन्जेल नयाँ कपडा नकिन्ने मान्छेले आज गर्लफ्रण्डसँग महिनैपिच्छे महलमा सपिङ गरेको देखेपछि मैले पनि महिनैपिच्छे एक जोर नयाँ कपडा लगाउन को लागि भएपनि लभ पार्दिम् क्या ?

कति सम्झाउँदा पनि बच्चाले जस्तो कुरा गर्ने अनि आफ्नो जिम्मेवारी के हो थाहा नपाउने बैनीले आज आफूलाई जिम्मेवारीले दबाब दिएको कुरा सुनाएपछि लाग्यो मैले पनि मभित्र भएको केटाकेटी पनलाई हटाउनको लागि लभ पार्दिम् क्या ?

फलानोले फलानीसँग लभ गरेको रैछ भनेर हल्ला हुने ठाउँमा मेरो पनि सानोतिनो लभ परेको चर्चा फिँजाउनको लागि मात्र भएपनि लभ त पार्दिम् क्या ?

हिजो कलेज पढ्दा कपिकलम किन्ने पैसा नभएर साथीसँग कपिका पाना मागेर कलेज पढेका दाइ ले आज आफ्नो र गलफ्रेण्डको खर्च आफै निकाल्छु भनेको सुन्दा मैले नि आफ्नो खर्च निकाल्नलाई मात्र भएपनि लभ त पार्दिम् क्या ?

हिजो पानी पिए जसरी रक्सी पिउने जड्याहा दाइ आज इमानदार र अनुशासित भएको देख्दा म पनि अझै इमानदार र अनुशासित बन्नको लागि भएपनि लभ पार्दिम् क्या ?

धेरै मान्छे वरिपरि भएको बेला मोबाइलमा टिङ्टिङ म्यासेज आएपछि सबैको नजर परेका अनि च्याट गरेर बसेका दाइलाई देख्दा अब आउने दिनमा म्यासेनजरको टिङ्टिङ आवाजले सबैको नजर म तिर पार्नको लागि भएपनि लभ पार्दिम् क्या ?

काकालाई विदेश पठाएर यता लभ पारेर बसेर पनि एउटा सामान्य भिडियो कलले काकाको विश्वासमा परिरहेकी काकीलाई देख्दा मान्छेलाई भ्रम नै सत्य हो भन्ने विश्वास दिलाउनको लागि भएपनि लभ पार्दिम् क्या?

हिजो अङ्ग्रेजी भन्ने के हो थाहा नपाएको भाइले आज चट्ट नेपाली मा अङ्ग्रेजी छट्ट घुसाएर गलफ्रेण्डसँग झट्ट बोलेको अनि लट्ठ भएर sms गरेको देख्दा अङ्ग्रेजी सुधार्नको लागि भएपनि लभ पार्दिम् क्या ?

वर्षमा एक दिन पनि होमवर्क नगर्ने साथीले कक्षा कै साथीसँग लभ पारेपछि निरन्तर होमवर्क गर्ने र निरन्तर नोट बनाएको देख्दा गतिलो नोट बनाएर गतिलो पढ्नको लागि पनि मैले अब त लभ पार्दिम् क्या ?

सधैँ खाली छु फुर्सदमा नै छु भन्नेहरू लभ परेदेखि व्यस्त छु भनेर भेटनलाई टारेको देख्दा मैले पनि सबै लाई भेट्नुपर्ने बाध्यता जनाउँदै व्यस्तताको बहाना पाउनलाई पनि लभ पार्दिम् क्या ?

अरे यार कलेजको टुर जाँदा त बसमा आफ्नो नजिकको सिट बुक छ है भनेर अरूलाई बस्न नदिई गलफ्रेण्डलाई बसालेर मोज गर्ने साथीलाई देख्दा मैले पनि कसैको निम्ति सिट रोकेर माया अनि सम्मान भन्ने कुरा कस्तो हुनुपर्छ भनी देखाइदिन को लागि भएपनि लभ पार्दिम् क्या ?

साथीहरूले मोबाइल माग्दा गोप्य चिज छ नचलाऊ है भनेर लक चेन्ज गर्नको लागि भएपनि लभ त पार्दिनै पर्छ क्या ?

धेरै घुम्न डुल्न हुन्न भन्ने मान्छे  गलफ्रेण्डसँग कहिले मन्दिर त कहिले पार्क अनि कहिले सिनेमा गएर ‘दामी दामी’ फोटा सामाजिक सञ्जालमा राखेको देख्दा मैले पनि मन्दिर अनि पार्कको अवलोकन गरी न्यानो मायाको आभास गर्नलाई भएपनि लभ त पार्दिम् क्या ?

समाजसेवी बुद्धिजीवी लेखक साहित्यकारसँग बस्दा पनि लभ कै कुरा हुन्छ हो तिनीहरू सँगको बसाइमा मिठास तरिकाले कडा तर्क दिनको लागि भए पनि अब त लभ पार्दिन्छु क्या ?

जन्मदेखि मृत्युसम्म, गीत देखि रितसम्म लभ नै लभ । यो लभ को वेदना बुझ्नलाई भएपनि लभ त पार्दिन्छु क्या ?

फिल्म हेर्छु गीत सुन्छु सबै लभ कै बारेमा हुन्छन्- त्यस्तै लभ स्टोरी बनाउनको लागि भएपनि एक पटक त लभ पार्दिम् क्या ?

अब त सबैले बेला भइसक्यो भनेर अत्याउछन्, विवाह गर्न बाध्य बनाउँछन् हो त्यो समयमा आट निकालेर विवाह गर्दिन्छु भन्नको लागि भएपनि लभ पार्दिम् क्या ?

लभ के हो ? लभ कोसँग हुन्छ?  लभ कसरी हुन्छ ? लभ किन हुन्छ ? लभको परिभाषा अनि वास्तविकता के हो ? लभका कुनै सिद्धान्त छन् कि छैनन्?  यी सबै कुरा हरूको यथार्थ जान्नको लागि भएपनि लभ पार्दिन्छु क्या ?

यति कुरा लेख्दा लभ नै नपरेको लेखक भनेर जिस्काउने अब धेरै हुन्छन् त्यसैले लभ परेको वास्तविक कहानी भाग एक लिएर पाठकसम्म आउनको लागि भएपनि लभ त जसै पार्दिम् क्या ?

  • लेखक : मोदी गा.पा ५ पर्वतका हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *