श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैन : शरतसिंह भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले वैदेशिक श्रमसम्बन्धी सबै कामहरू पहिला श्रम विभागले गर्ने भए पनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताए ।

उनले आफैँले बोल्ने वाक्यहरूले आफैँलाई पिरोल्ने गरेको बताए । उनले श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको बताए । मन्त्री भण्डारीले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको बताए । उनले श्रमको क्षेत्रलाई सुव्यवस्थित रूपमा सुरक्षित र भरपर्दो बनाउन सके सबै श्रमिकहरूको लागि राम्रो अवसर हुने बताए । उनले श्रमको ग्लोवलाइजेशनको फाइदा लिनसके देशलाई नयाँ सिराबाट अघि बढाउन सहयोग पुग्ने बताए ।

उनी भन्छन्, ‘हामीले श्रमको क्षेत्रलाई यसलाई डिग्रिफायर गर्नुपर्छ । मर्यादित, सम्मानित कसरी बनाउने ? यसलाई सुरक्षित कसरी गर्ने ? सरकारले लिएको लक्ष्य र मन्त्रालयको उद्देश्य पनि त्यही नै हो । मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरादेखि यदि यसलाई सुव्यवस्थित हिसाबले सुरक्षित र भरपर्दो हिसाबले इमानदारीपूर्वक अघि बढाउने हो भने सबैको राम्रो छ । म एउटा कुरा बारम्बार भन्ने गर्छु, अलि चर्को बोल्दिन्छु, त्यस कारण आफ्नो बोलीले आफैँलाई नै बेलाबेलामा अप्ठ्यारो पार्ने गर्छ । अस्ति मैले कता बोलेँ, मैले के बोलेँ भने यो श्रम तथा रोजगार मन्त्रालय हो, यसले श्रमिकले पाउने सुविधा र समस्या हेर्नुपर्ने हुन्छ तर अहिले मन्त्रालयले धेरै भन्दा धेरै वैदेशिक रोजगारकै मात्रै कुरा गरिरहेका छौ । मुलुकभित्रको श्रम र श्रमिकको अवस्था के छ ? भन्ने कुरा श्रम विभाग छ, पहिला श्रम विभाग नै थियो, श्रम विभाग अहिले कता छ भनेर मैले त भन्नु हुने की नहुने थाहा छैन, तर कमजोर अवस्थामा छ । त्यसैले मैले यसको नाम नै वैदेशिक मन्त्रालय राखिदिऔँ की क्या हो भनेको, ठूलो अक्षरमा ल मन्त्रीले त वैदेशिक रोजगार मन्त्रालय बनाउन खोज्यो भनियो । बोल्दा धेरै अप्ठ्यारो हुने गर्दो रहेछ । हामीले अहिले चर्को हिपोक्रेटी कुरा गरेर केही पनि फाइदा छैन । अहिलेको ग्लोवलाइजेशनको फाइदा हामीले लिनुपर्छ । हामीले यसलाई अवसरका रूपमा लिने हो भने देशलाई नयाँ सिराबाट अघि बढाउन सकिन्छ ।’

मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गरे । उनले मन्त्रालयले अहिले सोही विषयमा छलफल गरिरहेको छ र १० दिनभित्रमा ऐन परिमार्जनको ड्राफ्ट बनाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *