संसद बैठक शनिबारसम्मका लागि स्थगित

ओलीलाई भ्रष्टाचारको आरोप लगाएपछि अवरुद्ध भएको संसद बैठक शनिबार सम्मका लागि स्थगित भएको छ।
शुक्रबार मध्यान्ह १२ः४५ बजे २० मिनेटका लागि स्थगित भएको बैठक दिउँसो ३ बजे पुनः बोलाइएको थियो। तर पशुपतिको जलहरीको विषयमा ओलीलाई माओवादी सांसदले मुछ्दै आरोप लगाएपछि एमालेले त्यसको विरोधमा बैठक अवरोध गर्यो।
बेलुकी ६ बजे बस्ने भनिए पनि अन्तिम समयमा सूचना टाँस गरि स्थगित गरिएको छ।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार दिउँसो ४ बजेका लागि बैठक तय भएको जानकारी दिए।
यसअघि शुक्रबारको संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पशुपतिनाथको जलहारीमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेकोले छानवीन गर्नुपर्ने माग गरेका थिए।
उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन वा भ्रष्टाचार गरेको प्रमाण दिन माग गर्दै एमालेले संसद बैठक सुरु हुनेवित्तिकै अवरोध गरेको थियो।








