घरभाडा घटाइदिन पोखरेली व्यवसायीको घरबेटीसँग विनय

पोखरा । पोखरा क्षेत्रका व्यवसायी धमाधम पलायन भइरहेका छन् । अधिकांश सटरहरूमा ‘सटर भाडामा’ लेखिएका बोर्डहरू टाँसिएका छन् । ट्वाक्कै सङ्ख्या छैन, तर ३० देखि ४० प्रतिशत व्यवसायीले व्यवसाय छोडेर हिँडेका अनुमान गरिएको छ । देशभरको आर्थिक मन्दीका कारण व्यापार व्यवसाय राम्रोसँग चलेको छैन । भइरहेको व्यवसायीहरू पनि व्यवसाय छोड्नुपर्ने बाध्यता नजिक पुगेका छन् ।

पोखराका व्यवसायीहरूले आर्थिक संकट रहुन्जेलसम्म घरभाडामा केही छुट दिन घरबेटीसँग आग्रह गरेका छन् । पोखराको महानगर क्षेत्र भित्र रहेका रेष्टुरेण्ट, बार तथा पार्टी प्यालेसहरूको साझा संस्था पोखरा नगर रेष्टुरेण्ट तथा बार एसोसिएसन (सिटी रेवान पोखरा)ले घरभाडा घटाउन घरधनीहरूलाई अपिल गरेको हो । अध्यक्ष दीपक तिमिल्सनाले घरभाडा आधा घटाउन घरधनीहरूलाई अपिल गरेका हुन् ।

आर्थिक मन्दीका कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै सिटी रेवानले व्यवसायी बचाउन घरभाडा घटाउन आग्रह गरेको हो । ‘आर्थिक मन्दीले व्यापार चौपट छ । यही बेलामा बैंकको ब्याज र किस्ताले थिचिएका छौँ,’ उनले भने, ‘यो अवस्थामा व्यवसायी उठ्नै नसक्ने गरी थिचिएका छौँ । व्यवसायी बचाउन घरबेटीले भाडा घटाइदिनुपर्‍याे ।’

पोखरा क्षेत्रका रेष्टुरेण्ट तथा बारहरूको अवस्था नाजुक रहेको उनको भनाई छ । सिटी रेवानका अनुसार हालसम्म २५ देखि ३० प्रतिशत व्यवसायी व्यवसाय छाडेर पलायन भइसकेका छन् । झण्डै त्यति नै सङ्ख्यामा पलायन हुने स्थितिमा छन् । अहिले जेनतेन धानिएका व्यवसायीहरू पनि असार मसान्तसम्ममा बन्द हुने स्थितिमा पुगेको व्यवसायीहरूको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *