गण्डकीमा १० प्रतिशत औषधी अभाव

पोखरा । गण्डकी प्रदेशमा १० प्रतिशत औषधी अभाव देखिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माका अनुसार सबै प्रकारका करिब १० प्रतिशत औषधी अभाव रहेको बताएका हुन् । पालिकाका जनप्रतिनिधिहरूले स्वास्थ्यका उपकरण र औषधी समयमा नपाएको गुनासोपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको स्टोर अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा १० प्रतिशत औषधी मात्रै अहिले स्टोरमा रहेको भेटिएको छ । स्वास्थ्य प्रोटोकल अनुसार १० प्रतिशत औषधी इमरजेन्सीका लागि स्टक राख्नुपर्ने नियम भएकोले सोही अनुसारका औषधी मात्रै रहेको शर्माले बताए । प्रदेशमा औषधी अभाव रहेकोले सबै औषधी जिल्ला अस्पताल र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई पुर्‍याउन नसकेको उनको भनाई छ ।

पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पुर्‍याउन निर्देशन दिए । स्वास्थ्य जनताको जीवनसँग जोडिएकाले संवेदनशील क्षेत्र रहेको भन्दै पाण्डे भन्छन्, ‘औषधी थन्काएर राख्ने होइन, सक्दो जनताकहाँ पुर्‍याउनुपर्छ ।’

मंगलवार पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशको विभिन्न पालिकाका जनप्रतिनिधिहरूले औषधी, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गरेका थिए । जनप्रतिनिधिको गुनासोपछि मुख्यमन्त्री आफैँ स्टोरमा पुगेर औषधीको अवस्था बुझेका हुन् ।

मुख्यमन्त्री पाण्डेले औषधी १० प्रतिशत राख्नुपर्ने नियम भएपनि स्वास्थ्य उपकरणहरू भने सक्दो धेरै प्रयोगका लागि पठाउन सुझाव दिए । उनले ११ जिल्लाका कम्तीमा एक÷एक पालिकाका प्रमुखहरूलाई बोलाएर स्वास्थ्य प्रोटोकल र नियमबारे पनि थाहा दिनुपर्ने बताए । ‘हामी र स्थानीय तह बिच कम्युनिकेसन नहुँदा पनि केही समस्या भएको छ, उहाँहरूलाई प्रदेशमा औषधी छ हामीले पाएनौँ भन्ने परेको हुन सक्छ,’ उनले सचिवलाई निर्देशन दिँदै भने, ‘यस बारेमा तत्काल स्थानीय तहका प्रमुखहरू लाई पनि जानकारी गराउनुहोला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *