स्वास्थ्यका कर्मचारी पदपूर्ति पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा कर्मचारी पदपूर्ति प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

‘प्रदेश लोकसेवा आयोग मार्फत कर्मचारी पदपूर्ति गर्दा हामीले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रका कर्मचारीलाई राखेका छौँ,’ उनले भने ‘अन्य क्षेत्र भन्दा यो संवेदनशील हो, यसबारे मैले लोकसेवा र स्वास्थ्य सचिव ज्यूलाई भनिसकेको छु ।’ प्रदेश सरकार मातहतका अन्य कार्यालयमा पनि कर्मचारी अभाव रहेको बताउँदै उनले क्रमशः जनशक्ति व्यवस्थापन गर्दै जाने बताए ।

स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको गण्डकीका स्थानीय तहहरुवीच नवप्रवर्तनात्मक स्वास्थ्य कार्यक्रममा पाण्डेले आगामी बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई जोड दिने बताए । आगामी वर्षको बजेटमा ५ वर्ष मुनिका ‘बालबालिका र ६५ वर्ष माथिका मानिहरूको उपचार सेवा निःशुल्क गर्ने तयारी भईरहेको उनले जानकारी दिए । अस्पतालहरू, उपचार सेवा, आधुनिक यन्त्र उपकरणको व्यवस्थापन जस्ता विषयमा प्रदेश सरकारको विशेष ध्यान छ,’ उनले भने ।

१५ वेडका अस्पताललाई ५० बेड बनाउने र बिरामीको चाप अनुसार थप सेवा बिस्तार गर्ने गरी प्रदेश सरकारले योजना बनाइरहेको उनको भनाई छ । अहिले प्रमुख समस्याका रूपमा रहेको डायलायसिस सेवाका लागि कोही पनि बिरामीले पालो पर्खनु नपर्ने गरी प्रदेश सरकारले आगामी वर्षको बजेटबाट व्यवस्थापन गर्न लागेको मुख्यमन्त्री पाण्डेले बताए ।

‘स्वास्थ्य क्षेत्रमा प्रदेशबाट के कस्ता काम गर्न सकिन्छ हामी स्थानीय तहसँग सहकार्य गरेर र संघीय सरकारसँग समन्वय गरेर अघि बढ्छौँ,’ उनी अघि भन्छन्, ‘औषधीहरू स्टोरमा थन्किएर बस्ने, यन्त्र उपकरणहरुक थन्किने तर अस्पतालहरूले नपाउने अवस्थाको तत्काल अन्त्य गर्नुस् ।’ मुख्यमन्त्री पाण्डेले आजै स्वास्थ्यको स्टोर अनुगमन गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *