गण्डकीका १८ प्रतिशत परिवार भाडाको घरमा, ७९ प्रतिशतसँग मोबाइल फोन

पोखरा । गण्डकी प्रदेशका करिब १८ प्रतिशत परिवार भाडाको घरमा बसोबास गरेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार १७.६ प्रतिशत परिवारले भाडामा लिएको घरमा बसोबास गरेको भेटिएको हो । कूल ६ लाख ६१ हजार ६ सय ३२ परिवार मध्ये ८०.५ प्रतिशत आफ्नै स्वामित्वको घरमा बसोबास गरेका छन् ।

यहाँ महिलाको नाममा घर र जग्गा दुवै हुने परिवार १४.१ प्रतिशत छ भने २ लाख ७ हजार ९ सय १० परिवारका सदस्यहरू विदेशमा बसोबास गर्ने गरेको भेटिएको छ । अघिल्लो गणनामा २ लाख ३१ हजार ७५ परिवारका सदस्यहरू विदेशमा बसोबास गर्ने गरेका थिए । गण्डकीमा ६ लाख ६२ हजार ४८० परिवारमा ४१ प्रतिशत परिवारमुली महिला छन् ।

१० वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसङ्ख्याको ३१ प्रतिशत व्यक्तिहरू अविवाहित छन् । जसमा पुरुष ३७.३ प्रतिशत र महिला २५.५ प्रतिशत रहेका छन् । १८ देखि २० वर्ष उमेर समूहमा विवाह गर्नेहरू सबैभन्दा बढी भेटिएका छन् । २१ देखि २४ वर्षको उमेरमा विवाह गर्नेहरूको दोस्रो ठूलो सङ्ख्या छ ।

सबैभन्दा कम परिवार सदस्य हुने प्रदेश गण्डकी हो । यहाँ औसत परिवार सदस्य सङ्ख्या ३.७२ छ भने सबैभन्दा बढी मधेशमा ५.२९ जना छन् । १० वर्ष वा सोभन्दा बढी उमेरका २० लाख ९५ हजार ४ सय ७४ जना व्यक्तिहरूमध्ये ६५.७ प्रतिशत आर्थिक रूपले सक्रिय छन् ।

गण्डकीमा स्मार्ट मोबाइल फोन हुने परिवारको प्रतिशत ७८.८ छ । कुल परिवारमध्ये ५९.६ प्रतिशतमा टेलिभिजन छ भने ४७.९ प्रतिशतमा इन्टरनेट सुविधा छ । जनगणनामा सोधिएका परिवारमध्ये ९६.९ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको साधन सुविधा उपलब्ध छ । तथ्यांक कार्यालयले गण्डकीको तथ्यांक सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *