घरमा झुन्डिएको अवस्थामा आरतीको शव फेला, दाइजोको निहुँमा हत्या गरेको आरोप

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ९ स्थित घरमा झुन्डिएको अवस्थामा फेला परेकी महिलाको हत्या दाइजोको निहुँमा भएको आरोप लागेको छ । आइतबार बेलुका २२ वर्षीया आरतीको साहको शव झुन्डिएको अवस्थामा फेला परेको थियो । उनलाई तत्कालै काब्या अस्पताल लगियो । तर अस्पतालले उनको मृत्यु भइसकेको जनाएपछि शव पोष्टर्माटमका लागि प्रादेशिक अस्पताल पुर्याइयो । आरतीको शवको अहिले पनि अस्पतालमै छ । माइत पक्षले उनी आत्महत्या नगरेको दाबी गरेको छ ।

माइत पक्षको आरोप छ– दाइजोको निहुँमा श्रीमान्, देवर, सासू र ससुराबाटै भएको हो । दुई वर्ष अगाडी सामाजिक परम्परा अनुसार आरतीको विवाह मिथिला विहारी नगरपालिका ३ का मोतीबाबु साहसँग भएको थियो । आरतीको हत्या दाइजोकै निहुँमा भएको उनका बुवा नगराइन नगरपालिका ८ का विनोद प्रसाद साहको आरोप छ । उनले जिल्ला प्रहरी कार्यालय धनुषामा आरतीको हत्या गरेको भन्दै उनका श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणुमाथि किटानी जाहेरी दिएका छन् । प्रहरीले अहिले उजुरी दर्ता गरेको छैन ।

उनले उजुरीमा छोरी आरतीको विवाहमा २५ लाख रुपैयाँ खर्च गरेको दाबी गर्दै भनेका छन्– थप दाइजोका लागि पटक पटक यातना दिँदै आएको थियो । तर आफू एक न एक दिन सब ठिक हुन्छ भन्ने आशामा बसेको थिए । आरतीको शरीरको विभिन्न भागमा नीलडाम देखेपछि घटनास्थल पुगेको र त्यहाँ पुग्दा कुटपिट गरी ज्यान मारेको स्थानीयबाट खुल्न आएको दाबी उजुरीमा गरिएको छ । यता, धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले आरतीको शव झुन्डिएको अवस्थामा फेला परेको र अहिले थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार माइत पक्षले दाइजोको निहुँमा हत्या भएको भनेर जाहेरी पनि दिएको छ । तर पोस्टमार्टमको रिपोर्ट आएपछि मात्रै अर्थात् खुल्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *