निरन्तर रास्वपाविरुद्ध खनिएका शंकर पोखरेलले लेखे- पपुलिस्ट र सीमान्त गुरु एकै हुन्

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पपुलिस्ट’ र छोएरै रोग निको पार्ने ‘सीमान्त गुरु’ तर्क गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘पपुलिस्ट’ कुरा गरेर राजनीति गर्ने र छोएर रोग निको पार्ने दाबी गर्ने सीमान्त गुरु एकै भएको तर्क गरेका हुन् ।
उनी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीलाई इंगित गर्दै आफ्ना विचार राख्ने गरेका छन् । उनले पपुलिस्टहरु जनताको निराशाको लाभ लिन खोजिरहेको बताए । ‘पुरानो होइन नयाँ भनेर नीतिविहीन, उद्देश्यविहीन पपुलिस्ट पोलिटिक्स गर्नेहरूले ठिक र बेठिक छुट्ट्याउने द्वन्द्वात्मक चेतनाबाट समाजलाई विमुख बनाइरहेका छन्,’ उनी अगाडि लेख्छन्, ‘यसरी उद्देश्य विहीन पपुलिस्ट कुरा गर्नेहरू र छोएरै उपचार गर्छु भनेर भिड जम्मागर्ने सीमान्त गुरुमा के अन्तर भयो र ? दुवैथरी जनताको निराशाको लाभ लिन खोजिरहेका छन् । यस्तो अवस्थामा सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्नु हुँदैन ।’
महासचिव पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवालाई क्रमशः ‘लुट मच्चाएको‘ र ‘राष्ट्र डुबाएको’ आरोप लगाए । ‘कहाँ चुकेको छ सरकार ? नीति तथा कार्यक्रमले के कुरालाई सम्बोधन गर्नुपर्दथ्यो भन्ने कुरामा विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबालीकन राष्ट्रलाई डुबाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाई दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो कुरा होइन,’ उनले भने ।








