अफ सिजनमा धार्मिकस्थल पाँच पोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक । चार हजार दुई सय मिटरको उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल पाँच पोखरी पुग्दा यो दृश्य देखेपछि जोकोही रमाउँदै भन्छन्, ‘स्वर्ग छ भने यही नै हो ।’

पाँच पोखरी गाउँपालिका वडा ३ भोताङको छिम्ती गाउँ बजारबाट झण्डै दुई दिनको पैदल यात्रा कष्ट सुन्दरतम पाँच पोखरीको दृश्यले पूरा भुलाइदिन्छ । भिर काट्दै बनाइएको ‘एडभेन्चर’ (२२किलोमिटर) पदमार्गबाट नोस्याम, तप्खर्क, तोरपुली हुँदै लौरी विनायक, भूमेदेवको भिरको कलात्मक द्वारले स्वागत गर्छन् ।’

सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पोखरीहरूको समूह तथा हिन्दु धर्मको महत्त्व बोकेको धार्मिकस्थल हो पाँच पोखरी । इन्द्रावतीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम छन्- भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड ।

यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ ।

पाँच पोखरी ताल सुन्दरताका हिसाबले मात्रै नभएर धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात छ । जनैपूर्णिमाको दिन सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र मेलम्ची नगरपालिका दुवैतिरबाट जान सकिने पाँच पोखरी क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्दछ ।

पाँच पोखरीमा रहेको शिवको मन्दिरलाई मनोकांक्षा पूरा गर्ने मन्दिरको रूपमा लिइन्छ । पाँच पोखरीमा अवस्थित नजिकै रहेको महादेवको मन्दिर परिसरमा रहेको पोखरीमा नुवाइधुवाइ गरेर पाँच वटा पोखरी परिक्रमा गरेमा पापमोचन हुने र मनले चिताएको पुरा हुने जनविश्वास रहेको पाइन्छ ।

पाँच पोखरी रहेको स्थलबाट करिब एक घण्टाको उकालो यात्रा गरेपछि त्यो क्षेत्रको अग्लो डाँडामा पुगिन्छ ।मौसम खुलेको बेला सो डाँडाबाट हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

उचित प्रचार प्रसार नभएका कारण यो क्षेत्र पर्यटकीय गन्तव्यस्थल बन्न नसक्नुका साथै भौतिक पूर्वाधारको विकास समेत हुन सकेको छैन । विशेष गरी पाँच पोखरीमा जनै पूर्णिमाको अघिल्लो दिन र मंसिर पूर्णिमाका दिन विशेष मेला लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *