‘स्कटिश बोर्डर’ : विराटनगरमा उत्पादित उच्चस्तरीय पस्मिना युरोपसम्म निर्यात (भिडिओ)

काठमाडौँ । नेपाली बजारमा पस्मिनाका कपडा एकदमै महँगा हुन्छन् । पस्मिना च्याङ्ग्राको शरीरबाट निकालिएको एक विशेष प्रकारको भुवाबाट बनेको धागो हो । च्याङ्ग्रामा यस किसिमको भुवाको उत्पादन न्यून मात्रामा हुने र यस्तो भुवाको धागोबाट बनाइएको कपडाले ज्यादा ठण्डा हुने ठाउँका शरीरलाई निकै न्यानो प्रदान गर्ने भएकोले यस्तो कपडाको मूल्य पनि तुलनात्मक रुपमा महँगो पर्छ । अर्कोतर्फ, नेपालमा पर्याप्त च्याङ्ग्रा पालन गरिएको छैन । यसको अर्थ च्याङ्ग्राको संख्या नै नेपालमा कम छ । त्यस्तै, च्याङ्ग्राको भुवाबाट निकालिसकेपछि प्रशोधन गर्न प्रविधि पनि छैनन् । पछिल्लो समय सरकार मातहतमा त्यससम्बन्धी काम अघि बढीरहेका देखिन्छन् । तर त्यसबाट नतिजा लिन अझै कुर्नुपर्ने देखिन्छ ।

भिडिओ

त्यसो हुँदा नेपालमा पश्मिनाबाट कपडा उत्पादन गर्न बाध्य भएर चाइना वा युरोपबाट धागो मगाउनु पर्ने हुन्छ । यी सबै कारणले नेपालमा पस्मिनाको कपडाहरू महँगो हुने गोल्यान ग्रुपका कार्यकारी निर्देशक शक्ति गोल्यान बताउँछन् । अवस्था यस्ताे जटिल रहेकाे भए पनि गोल्यान ग्रुपको ट्राइकोट इन्डस्ट्रीले निर्यातलाई नै लक्ष्य बनाएको छ ।

उनले भने, ‘पस्मिना धेरै महँगो भएर यहाँ पनि हामीले दिन खोजिरहेका छौँ । त्यसमा अन्य धेरै प्रकारको धागोहरू राख्ने हाइक्वालिटीको प्रोडक्ट, युरोपियन स्ट्यान्डर्डको प्रडक्ट डिजाइनिङ र कलरको प्रयोग गरिएको छ ।’

‘स्कटिस बोर्डर’ लाई युरोपेली स्तरको कलर र डिजाइनमा तयार पारेर हिउँदमा बजारमा ल्याउने तयारी रहेको गोल्यन बताउँछन् ।

उनका अनुसार सुरुमा उनले स्कटिश बोर्डर ब्रान्डमा पश्मिना कपडा उत्पादनका लागि स्कटल्यान्ड र अमेरिकाको डिजाइनर हायर गरेका थिए । उनी अमेरिकामा अध्ययन गरेकाले डिजाइनर पनि त्यहीँबाट ल्याएका थिए ।

उनी भन्छन्, ‘म पनि त्यही पढेको । डिजाइनर पनि त्यहीँको थियो । स्कटिस बोर्डर को ट्रेडमार्क, डिजाइन र कलर पहिल्यैदेखि कम्पनीसँग थियो ।’

उनका अनुसार हाल कम्पनीले उत्पादन गर्दै आएको पश्मिना कपडाका लागि आवश्यक कुनै धागो नेपालमै पाइन्छ । तर, मुख्य धागो चीन, भारत र इटालीबाट ल्याइने गरेको छ । यी धागो तथा कच्चा सामग्री उपलब्ध भएपछि ‘स्कटिस बोर्डर’ को ट्यागलाइनमा नेपालकै विराटनगरमा रहेको कम्पनीका उत्पादन प्लान्टबाट पश्मिना कपडाहरु उत्पादन गरिन्छ ।

जाडो मौसमका लागि शुद्ध पस्मिना पनि बजारमा ल्याउने तयारी रहेको उनले बताए । तर गर्मीका लागि कटन, सिल्क र अन्य धागो मिसाएर सस्तो र बलियो प्रडक्ट बजारमा ल्याउने उनले बताए ।

भन्छन्, ‘बढी जाडोमा प्रयोग गर्न मिल्ने शुद्ध पस्मिनाका कपडा पनि बजारमा ल्याएका छौँ । तर जाडोबाहेक अन्य समयमा लगाउन हामीले कटन मिसाएका हुन्छौँ, सिल्क मिसाएका हुन्छौँ । त्यो हिसाबले मूल्य पनि सस्तो पर्न जान्छ र त्यो एक दुई महिना मात्र होइन छ महिना लगाउन मिल्छ ।’

उनले पश्मिनासँगै अन्य कटन, सिल्क लगायतका धागो समेत मिसाइएका कपडाको भने मूल्य सस्तो पर्ने उनले बताए ।

उनका अनुसार हाल भारत, युरोप र अस्ट्रेलियामा ‘स्कटिस बोर्डर’ ब्रान्डका पस्मिना कपडाहरू निर्यात भइरहेका छन् । अमेरिकामा पनि निर्यात गर्ने प्रयत्न भइरहेको उनको भनाइ छ ।

‘स्कटिश बोर्डर हाल इन्डियामा, युरोप, अस्ट्रेलिया गइरहेको छ,’ उनले भने, ‘अमेरिकामा हामी कोसिस गरिहरेका छौँ । नेपालमा हामी यो वर्ष लन्च गर्छौँ ।’

वास्तवमा पस्मिनाको उत्पादनको सुरुवात काश्मिरमा भएको मानिन्छ । तर वास्तवमा त्यसलाई प्रोडक्सनमा बदल्ने ठुलो काम स्कटल्यान्डले गरेको थियो । त्यसैको आधारमा ब्रान्डको नाम नै ‘स्कटिश बोर्डर’ राखेको उनले बताए । पश्चिमी मुलुकमा निर्यातका लागि त्यो नामले सहज बनाएको समेत उनले बताए ।

उनले भने, ‘नाम राख्नुको कारण नै पश्चिमी मुलुकमा जान सजिलो होस् भनेर थियो । तर हामी ब्रान्ड नेम त्यो भएपनि मेड इन नेपाल नै लेख्ने गरेका छौँ । यो हाम्रो टेस्ट मार्केटिङ पनि हो । राम्रो फिडब्याक आयो भने नेपालीपन झल्कने खालका ब्रान्डहरू पनि लन्च गर्ने प्लानमा छौँ ।’

उनले राम्रो प्रतिक्रिया आए अन्य नेपालीपन झल्कने ‘ब्रान्ड नेम’ राखेर पनि बजारमा पश्मिना कपडा पठाइने उनले बताए । उनका अनुसार नेपालीपन झल्काउन ओसलेना भन्ने नाम पनि रजिस्टर गरिसकेका छन् । नेवारी शब्दमा ‘ओस’ भनेको लुगा हो । ‘लेना’ भनेको पस्मिनाको खोजी भएको स्थान हो । उनले पस्मिनाको खोज भएको ठाउँ र नेवारी शब्द ओसालाई मिलाएर ब्रान्डको नाम ‘ओसलेना’ राखेर ब्राण्ड दर्ता गर्ने काम पनि भइसकेको बताए । तर उक्त ब्रान्डमा कपडा उत्पादन गरी तत्काल बजारमा ल्याउने वातावरण नभएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *