चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

अर्घाखाँचीको  भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
भूमिकास्थान–२ ढाकाबांगको बेल्वासे गाउँमा वनमा काँडामा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो। आगो लगाउने भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
जङ्गली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। गत वैशाख २६ गते दुई जना र २७ गते दुई जना गरी चार जनाको मृत्यु भएको थियो। आगलागीमा परी घाइते भएकी एक महिला अझै उपचार भइरहेको छ।
पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्य्राइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
उक्त नियममा छ महिनादेखि दुई वर्षसम्म कैद वा रु २० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ। अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै सन्धिखर्क–७ खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षीय ईश्वरीप्रसाद न्यौपाने रु १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क–३, खाँचीखर्कमा आगो लगाउने ५० वर्षीया मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।
जनावरलाई धपाउने, काँडा तथा पात पतिङ्गर जलाउने, हेलचेक्य्राइँ गर्ने तथा विभिन्न बहानामा आगो लगाउँदा घरबस्ती तथा जनधनकै क्षति बढेपछि प्रहरीले सक्रियता देखाएको छ। “हेलचेक्य्राइँ गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ”, प्रनाउ रिजालले भने, “फागुनदेखि असारसम्म सबै चनाखो बन्नुहोला।”  रासस
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 2 =