टी-२० विश्वकप एसिया क्षेत्रको छनोट नेपालमा

काठमाडौँ । नेपालले टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी- २० विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्ने अवसर दिएको हो ।

नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको ट्वान्टी विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । एसियाको छनोटमा नेपालसहित, यूएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् भने बाँकी दुई छनोट चरण पार गरेर आउनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइने छ, जसमा समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिकी महाद्वीपमा हुने विश्वकपमा स्थान बनाउने छन् । प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको माथिल्लो क्रिकेट मैदानमा हुनेछ । हालै सम्पन्न एसीसी प्रिमियर लिग कपबाट मूलपानी क्रिकेट मैदान प्रयोगमा आएको थियो ।

चन्दका अनुसार प्रतियोगिता आयोजना गर्ने दाबी यूएईले पनि देखाएको थियो, तर विगतमा विश्वकप छनोटदेखि एसिया कपसम्म आयोजना गरिसकेका हुनाले आईसीसीले यस पटक नेपाललाई अवसर दिएको छ । ६ महिनाअघि आईसीसीले नेपाललाई बंगलादेशसँग मिलेर २०२७ मा आईसीसी यू-१९ महिला विश्वकप आयोजना गर्ने जिम्मेवारी दिएको र अहिले टी–२० विश्वकप छनोटको आयोजना पनि नेपाललाई दिएको छ ।

क्रिकेटका फ्यानको ठुलो संख्या रहेको र यो बढ्नेक्रममा रहेकोले आइसीसीले आफ्ना प्रतियोगिता आयोजनाको अवसर अब बिस्तारै नेपाललाई दिन थालेको देखिएको छ ।नेपालले पहिलो पटक आईसीसीको यति ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो । नेपालले हालै सम्पन्न एसीसी प्रिमियर कप सफलतापूर्वक आयोजना गरेपछि पनि एसीसी र आइसीसीको नेपालप्रति थप सकारात्मक भएको बुझ्न सकिन्छ ।

आयोजक वेस्ट इन्डिज र अमेरिका २०२४ को विश्वकपका लागि सोझै छनोट भएका छन् । २०२२ मा अस्ट्रेलियामा भएको पछिल्लो टी-२० विश्वकपमा शीर्ष ८ भित्र रहेका राष्ट्रहरू अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि अर्को वर्ष हुने टी-२० विश्वकपका लागि छनोट भइसकेका छन् । त्यसबाहेक विश्व टी-२० वरीयतामा शीर्ष रहेका अफगानिस्तान र बंगलादेश पनि विश्वकपका लागि छनौट भैसकेका छन् ।

टी-२० विश्वकपमा पहिलो पटक २० राष्ट्र खेल्दै छन् । एसियासहित अफ्रिका र युरोपबाट २-२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट भएर आएको १-१ टोलीले अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *