नेपाली काँग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स्वर्गद्वारीमा

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्युठानको स्वर्गद्वारीमा तिन दिवसीय प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना हुँदैछ । प्रदेशका १२ जिल्लाबाट झण्डै १ सय जना अगुवा कार्यकर्ताहरूको सहभागिता रहने सो प्रशिक्षण कार्यक्रमको पार्टीका केन्द्रीय उपसभापति तथा नेपाल सरकारका कानुन तथा न्याय मन्त्री धनराज गुरुङले उद्घाटन गर्ने तय भएको हो ।

आगामी वैशाख २९, ३० र ३१ गते सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले आज रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरियो । उक्त पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले नेपाली काँग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यकर्ता पङ्क्तिमा आएको नैराश्यता र नेताहरूमा देखिएको विचलन र अनुशासनहीनता न्यूनीकरण गर्ने यस कार्यक्रमको मूललक्ष्य भएको उल्लेख गर्दै उपसभापति श्रेष्ठले जनताले आशा र भरोसा गरेको पार्टी नेपाली काँग्रेस भएकोले काँग्रेस सच्चिएर अघि बढ्नुको विकल्प नरहेको धारणा व्यक्त गरे । कार्यक्रम सञ्चारकर्मीहरूको जिज्ञासा मेटाउँदै उनले काँग्रेस प्रतिको जनविश्वास घट्न नदिन नेताहरूले आवश्यक कदम चाल्नु पर्ने कुरामा जोडदिएका हुन् ।

कार्यक्रममा प्रशिक्षण विभागका सचिव बालकृष्ण पौडेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउने काँग्रेसले अवलम्बन गर्नुपर्ने अबको बाटो र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना, निवर्तमान प्रदेशसभा सदस्य निर्मला क्षेत्रीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *