मन्त्रीको नाम लिन काठमाडौँ गएका पाण्डे फर्किए, गण्डकीको सरकार विस्तारमा अझै विलम्ब

पोखरा । राजनीतिक स्वायत्तता नपाउँदा गण्डकीमा सरकार विस्तारमा विलम्ब भएको छ । मन्त्रीको नाम लिन काठमाडौँ गएका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे मंगलबार पोखरा फर्किसकेका छन् । आजै सरकार विस्तारको सम्भावना छ । तर गठबन्धन दलहरूमा भागबण्डा नमिलेका कारण अलमलिन पनि सक्छ ।

माओवादी र कांग्रेसबीच भागबण्डा मिलिसकेको छ । तर कांग्रेस र एकीकृत समाजवादीसँगको भागबण्डा मिलेको छैन । माओवादीलाई २ मन्त्रालय दिने सहमति भैसकेको कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार एकीकृत समाजवादीसँगको भागबण्डा केन्द्रमै मिल्ने छ ।

वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले २१ गते विश्वासको मत लिइसकेका छन् । विश्वासको मत पाएपछि उनी सरकार विस्तारको प्रक्रियामा छन् । बजेट र नीति तथा कार्यक्रम बनाउनुपर्ने चटारोका बीच सरकारलाई पूर्णता दिएर काम अघि बढाउन लागिएको न्यौपानेले बताए । ‘किस्ताबन्दीमा मन्त्री थप्ने भन्दा एकै पटक विस्तार गर्ने योजना छ । अहिले मन्त्रालयको सङ्ख्या नबढ्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाइसक्नुभएको छ,’ उनले भने, ‘आजभोलिमै सरकार विस्तार हुन्छ ।’

मुख्यमन्त्री सहित कांग्रेस र माओवादीबाट १/१ जना विना विभागीय मन्त्री नियुक्त भैसकेका छन् । अब माओवादीबाट थप एकजना मन्त्री नियुक्त हुनेछन् । कांग्रेसबाट सरस्वती अर्याल र माओवादीबाट सुशीला सिंखडा मन्त्री बनिसकेका छन् । माओवादीले रेशम जुग्जालीलाई मन्त्री बनाउने सम्भावना छ ।

कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङबाट मन्त्री बन्ने बुझिएको छ । ५ वटा मन्त्रालय कांग्रेसले पाए लमजुङका टकराज गुरुङको सम्भावना रहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *