भुक्तानी नपाएपछि निर्माण व्यवसायीले घेरे अर्थ मन्त्री, बन्यो मन्त्रीपरिषद् बैठकको एजेन्डा

जनकपुरधाम । दुई वर्षअघि गरेको काम बापतको भुक्तानी हालसम्म नपाएपछि निर्माण व्यवसायीले मधेश प्रदेशका अर्थ मन्त्री सञ्जय यादवलाई घेराउ गरेका छन् । भुक्तानी माग्न आएकालाई आफ्नो निवासमा बसाएर मुख्यमन्त्री कार्यालयतर्फ जान लागेका अर्थमन्त्रीलाई निर्माण व्यवसायीले घेराउ गरेका हुन् ।

दुई वर्षअघि नै गरिएका कामको भुक्तानी नदिएपछि निर्माण व्यवसायी निरन्तर मुख्यमन्त्रीको कार्यालयसहित विभिन्न मन्त्रालय धाइरहेका छन् । मंगलबार पनि निर्माण व्यवसायी मुख्यमन्त्री सरोज यादवलाई भेटे । मुख्यमन्त्री यादवले उनीहरूलाई अर्थमन्त्री यादवलाई भेट्न भने । यसपछि अर्थ मन्त्री आफ्नै निवासमा रहेको थाहा पाएपछि निर्माण व्यवसायी त्यहीँ पुगे ।

अर्थमन्त्री यादवले निर्माण व्यवसायीहरूलाई बस्न लगाएर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हिँड्न लागेका थिए । यो जानकारी पाएपछि निर्माण व्यवसायीहरू अर्थमन्त्रीको गाडी घेराउ गर्दा दुवै पक्षबीच केही बेर चर्काचर्की नै भयो । भुक्तानीको समस्या समाधान गर्न दबाब दिएपछि अर्थमन्त्री यादवले सर्लाहीबाट गुण्डा बोलाएर धम्काउन लगाएको निर्माण व्यवसायीको आरोप छ ।

निर्माण व्यवसायीले अर्थ मन्त्रीलाई घेराउ गरेपछि यो विषय मन्त्रीपरिषद् बैठकको एजेन्डा बन्यो । अर्थमन्त्री यादवले पुरानो भुक्तानी क्लियर गर्नुपर्ने बताएपछि मुख्यमन्त्री यादवले बैठकमै सबै सचिवलाई फायलसहित बोलाएका थिए ।

बैठकबाट बाहिरिँदै अर्थमन्त्री यादवले भुक्तानीको समस्या समाधान गर्न छलफल भएको भन्दै दुई/तीन दिनभित्रै समाधान हुने आश्वासन निर्माण व्यवसायीहरूलाई दिए । विभिन्न ३८ योजनाको ६० करोड रकम भुक्तानी गर्न बाँकी छ । विभिन्न योजनाहरूको काम सम्पन्न गरेको २ वर्ष बित्दा समेत अझै भुक्तानी नदिएको निर्माण व्यवसायीहरूको गुनासो छ ।

निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरीले बिहीबार क्याबिनेट बैठक रहेको र सो बैठकबाटै भुक्तानीको समस्या समाधान हुने भनेर मुख्यमन्त्रीले पनि आश्वासन दिएको बताए । उनले बिहीबारसम्म समस्या समाधान नभए आन्दोलन सुरु गर्ने बताए । उनले भने, ‘बजेट अधिवेशन समेत चल्न दिँदैनौँ । अब हामी मर्छौँ कि मार्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *