नक्कली भुटानी शरणार्थी प्रकरणको बाछिटा गण्डकीसम्म, पूर्वमन्त्री जुग्जालीले दिए प्रष्टीकरण

पोखरा । जेलिएको नक्कली भुटानी शरणार्थी काण्डको बाछिटा गण्डकीसम्म झरेको छ । गण्डकीका निवर्तमान मन्त्री तथा माओवादी नेता रेशम जुग्जालीको नाम जोडेर सञ्चार माध्यमहरूमा समाचार आएपछि उनले आफू संलग्न नरहेको प्रष्टीकरण दिएका हुन् ।

खगराज अधिकारी नेतृत्वको सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जुग्जालीले पैसा लिएर नक्कली शरणार्थी बनाउन भूमिका खेलेको आरोप सहितको समाचार सञ्चार माध्यममा प्रकाशित भएको थियो ।

जुग्जालीले आफ्नो संलग्नता त्यसमा नरहेको बताएका छन् । आफूलाई बदनाम गर्ने उद्देश्यसहित नियोजित समाचार सम्प्रेषण गरिएको र यसमा कानूनी उपचार खोज्ने उनको भनाई छ । ‘मेरो नामबाट कसैले अमेरिका पठाइदिन्छु भनेर वा मैले नै त्यस्तो गलत काम गरेको छु भने उजुरी गर्नुस्,’ उनले विज्ञप्ति निकाल्दै भने, ‘म विरुद्ध कुनै उजुरी पर्‍यो भने अनुसन्धानमा सघाउन तयार छु ।’

जुग्जाली नयाँ सरकारमा पनि मन्त्री बन्ने लगभग पक्का छ । आफ्नो सार्वजनिक पदलाई धुमिल पार्ने नियतले यस्ता समाचार आएको उनको भनाई छ । जुग्जालीले आफ्नो चरित्रहत्या गर्ने खालको समाचार सम्प्रेषण गरेका दुई अनलाइन विरुद्ध साइबर क्राइम अन्तरगत मुद्दा दर्ता गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *