रविलाई अफर- प्रचण्डले मन्त्री बन्नुस् भन्दा ओलीले गरे प्रधानमन्त्री प्रस्ताव

काठमाडौँ । संसद्को चौथो ठूला दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफूतिर तान्न सत्ता र प्रतिपक्ष दुवैले संवाद थालेका छन् । सत्ता गठबन्धनले सरकारमा आउन आग्रह गर्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको अफर गरेका हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा फर्काउन जारी राखेका छन् । गठबन्धनमा रहेका दलहरूले रास्वपासँग वार्ता गर्ने र सहमतिमा ल्याउने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिएका हुन् । बुधबार साँझ बसेको बैठकले अहिलेकै गठबन्धनलाई निरन्तरता दिँदै रास्वपालाई सरकारमा फर्काउन प्रयास गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता पनि गरेका थिए । तत्काल सरकारबाट बाहिरिने भन्दै चितवनबाट आएका रवि प्रचण्डसँगको भेटपछि रोकिएका छन् । रास्वपाले तत्काल निर्णय गरिसकेको छैन । आफूले मागेको मन्त्रालय पाए सरकारमा जाने मुडमा छ ।

तर सरकार विस्तारले रास्वपालाई भाग दिन सकस हुने देखिएको छ । बुधबार मात्रै नेपाली कांग्रेसबाट तीन जना मन्त्री बनेका छन् । अब उपेन्द्र यादव पनि मन्त्री बन्ने सम्भावना छ । त्यसबाहेक खानेपानी मन्त्रालय मात्रै खालि छ ।

यहिबीच प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले भने सभापति लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेका छन् । सरकारबाट बाहिरिएपछि एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको छ । सोही क्रममा ओलीले लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् । एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछाने मंगलबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत सरकारसँग असन्तुष्ट छ । एमाले, रास्वपा, जनमत, जसपासहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्ने लामिछाने छलफल अगाडि बढाएका हुन् । एमालेबाट आएको प्रस्तावअनुसार अन्य दलसँग छलफल भइरहेको रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्यालको भनाई छ ।

यसअघि रास्वपा सभापति रवि लामिछाने पुस ११ मा गृह तथा उपप्रधानमन्त्री नियुक्त भएका थिए । शिक्षा शिशिर खनाल र श्रम मन्त्रालयमा अर्याल गएका थिए । तर लामिछानेको सांसद पद नै नरहेपछि माघ २२ गते रास्वपा सरकारबाट बाहिरिएको थियो । यही १० गतेको उपनिर्वाचनबाट रवि भारी मतका साथ फेरि संसद्मा आएपछि सत्ता र प्रतिपक्षले उनको पार्टीलाई आफूतिर तान्न कसरत जारी राखेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =