नेपालीलाई नक्कली शरणाथी बनाएर ठगी गर्ने कोही पनि उम्कन पाउँदैनन् : गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको घटनामा कोही पनि उम्कन नपाउने बताएका छन्।

गृहमन्त्री श्रेष्ठले प्रहरीलाई दोषी जति नै शक्तिशाली वा पहुँचवाला भए पनि नछोड्न निर्देशन दिइसकेको बताएका छन्।

अनुसन्धानका नाममा निर्दोषलाई दुःख नदिन र दोषिलाई उम्बन नदिन निर्देशन दिइसकेको गृहमन्त्री श्रेष्ठले बताएका हुन्।

अदालतले नेकपा एमालेका सचिव टोपबहादुुर रायमाझीलाई पक्राउ गर्न अनुमति दिइसकेको छ। पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन्।

नेपाल सरकारका बहालवाला सचिव बुधबार पक्राउ परेका छन्। पूर्व गृहसचिव एवम् हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका हुन्। उनलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिइसकेको छ। उनलाई सिंहदरबार प्रहरीको हिरासतमा राखिएको छ।

पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, टोपबहादुर रायमाझीका छोरा सन्दीप, इन्द्रजित राईका छोरा निरजलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ।

यसअघि केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर राई र शन्देश शर्मा पक्राउ परेका थिए। उनीहरुलाई पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो ठगी प्रकरणमा अझै उच्च कर्मचारी र नेता समेत तानिन सक्ने देखिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =