युएईमाथि जित निकाल्दै एसिया कपमा पुग्ने सोचमा नेपाल

काठमाडौँ । वर्षाले स्थगित भएको नेपाल र युएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । सोमबार टियु क्रिकेट मैदानमा लगातार वर्षा भइरहेपछि बाँकी खेल मंगलबारसम्मका लागि स्थगित गरिएको थियो ।
टस हारेर पहिला ब्याटिङ गरिरहेको युएईले खेल रोकिनु अघिसम्म युएईले २७.३ ओभर खेलेर ९ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । अब आज रोकिएकै अवस्थाबाट खेलले निरन्तरता पाउने छ ।
सोमबार युएईका ब्याट्सम्यान आसिफ खान ४६, जाहूर खान ०, आयान खान ५, बसिल हामिद १०, रोहन मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।
त्यस्तै यस खेलमा नेपाली बलरहरूले शानदार बलिङ गरिरहेका छन् । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिएका छन् । उनले लगातार दुई विकेट लिएपछि खेल रोकिएको थियो र उनी अहिले ह्याट्रिकमा रहेका छन् । करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एल एक विकेट लिएका छन् ।
फाइनल खेलका लागि एक दिनको रिजर्भ डे राखिएको थियो । आजको खेलमा दर्शकलाई भने निशुल्क प्रवेश गरिएको छ । यस खेलको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।








