कपनमा नीराको हत्या आराेपी बिनोद आज भारत भाग्ने योजनामा थिए

काठमाडौँको कपनस्थित सरस्वती नगरमा ३५ वर्षकी नीरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ।
वैशाख ७ गते भाँडा पसल सञ्चालक निराको आफ्नै पसलमा आएका ग्राहकले हत्या गरेका थिए। घटना भएको ११ औँ दिनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले झापाका बिनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो।
बिनोद बाउन्सर हुन्। केही महिनाअघिसम्म बिनोद ठमेलको नाइटक्लबमा कार्यरत थिए। उनैले निराको हत्या गरेको सीआईबीले दाबी गरेको छ। सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार बिनोदले निराको हत्या गरेको स्वीकार गरिसकेका छन्। र प्रमाणले पनि उक्त कुरा पुष्टि भइसकेको छ।
तर बिनोदले एउटा सिक्रि लुट्न कै लागि मात्रै हत्या गरेका हुन् कि अरु पनि कारण जोडिएका छन् भन्ने अब अनुसन्धान हुने एआईजी बज्राचार्यले बताइन्।
हत्या गरेको आरोपमा शनिबार झापामा पक्राउ परेका विनोद विकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार काठमाडौं ल्याएको थियो।
झापाको धुलाबारीका बिनोद पछिल्लो समय भक्तपुरको लोकन्थलीमा साथीको कोठामा बस्दै आएका थिए। उक्त कोठाबाट शनिबार नै बिनोदले हत्या गर्दा लगाएका कपडा, जुत्ता र झोला फेला पारेको थियो।
त्यसपछि विनोदले हत्या गरेको खुलेको थियो। सीआईबी र अपराध महाशाखाको टोली उनलाई पक्राउ गर्न शनिबार अपरान्ह झापा गएको थियो। राति विर्तामोडस्थित इलाम बसपार्कस्थित होटलबाट उनी पक्राउ परेका थिए।

बिनोद आइतबार बिहान भारत जाने तयारीमा रहेको पनि खुलेको छ। आइतबार बिहानै आफू कोलकत्ता जाने तयारीमा रहेको उनले प्रहरीलाई बताएका छन्।
सुरुमा लुटपाट मात्रै गर्ने उदेश्य रहे पनि निराले प्रतिकार गरेपछि हत्या गरेको उनको बयान छ। भाँडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर हत्या गरेका थिए। पछि त्यो चक्कु उनले खोलामा फालेको बताएका छन्। प्रहरीले उक्त चक्कू फेला पारेको छैन।
तर अब बिनोदलाई लिएर चक्कूको खोजि गर्न प्रहरी जानेछ।
नीरा काठमाडौँ महानगरपालिका–६ सरस्वती नगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर सञ्चालन गर्दै आएकी थिइन्।
हत्यापछि पनि एक हप्तासम्म उनी काठमाडौंमै थिए। लुटेको सिक्रि उनले बालाजुस्थित पाथिभरा सुनचाँदी पसलमा विक्रि गरेका थिए। एक तोलाको सिक्रि उनले ५५ हजार रुपैयाँमा दिएका थिए। उनले सिक्रि बेच्दा विनोद रसाइली भनेर नाम लेखाएको पनि खुलेको छ।
त्यो दिन विनोद सामान किन्ने बहानामा पसलमा छिरेका थिए। तर पसलमा सामान अडर गर्दै गर्दा अरु पनि ग्राहक आएपछि उनी एटिएमबाट पैसा लिएर आउँछु भन्दै बाहिरि निस्किए। करिव १५ मिनेटपछि फेरि फर्किंदा निरा मात्रै थिइन् पसलमा। त्यहअी मौकामा उनले निराको हत्या गरेको खुलेको छ।
गम्भीर अवस्थामा फेला परेकी निरालाई उपचारका लागि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

बागलुङ घर भएकी उनका श्रीमान पनि नजिकै अर्को पसलमा थिए। तर श्रीमानसँग सम्बन्ध खराब थियो।
प्रहरीले सिसी क्यामरामा विनोदलाई पछ्याउँदै जाँदा भक्तपुरको लोकनथलीस्थित डेरामा पुगेर पत्ता लगाउन सफल भएको हो।








