पोखराका मेयरलाई जापानमा र्याखर्याखी, १ वर्षमा केही काम नगरेको आरोप

पोखरा । पोखराका मेयर धनराज आचार्य अहिले जापान भ्रमणमा छन् । जापान सहयोग नियोग (जाइका) को आतिथ्यतामा जापान पुगेका उनले त्यहाँ रहेका पोखरेलीहरूसँग अन्तरक्रिया गरे ।
पोखरामा आफू निर्वाचित भएपछि गरेका कामको फेहरिस्त सुनाउँदै गर्दा उनलाई ‘फ्लोर’ बाट प्रश्न आयो, ‘एक वर्षमा के काम गर्नुभयो ?’ अहिलेसम्म देखिने गरी कुनै काम गर्न नसकेको ती व्यक्तिको आशय थियो ।
‘के गर्नुभयो मेयर बनेको १ वर्षसम्म ? गर्दैछु मात्रै भनेर हुन्छ ? म वडा नम्बर ६ लेकसाइडको हो,’ उनले भने, ‘केही भएको छैन । फेवाताल सफा नै छैन । म अस्ति गएर आएको हो । तपाईँहरूले केही गर्नुभएको छैन । विकास निर्माण पनि उस्तै छ ।’
मेयर आचार्यले जवाफमा एउटा व्यक्तिले ९ महिनामा साह्रै ठूलो काम गर्न नसक्ने प्रतिक्रिया दिए । ‘गरिरहेको छु, मेरा कुरा सुन्नुभएन ? फेवाताल सफाइको काम गरेका छौँ । अरू काम पनि भइरहेको छ,’ उनले भने, ‘९ महिनामा कति काम हुन्छ ? ठूलो परिवर्तन यति छिटो हुन्छ ?’ मेयर आचार्यलाई पोखरामा पनि खासै ठूलो काम हुन नसकेको गुनासो गर्दै आएका छन् ।
उनी विद्यार्थी राजनीति गरेर उदाएका थिए । पछि पार्टीमा अवसर नपाएपछि हराएका उनी लायन्सको नेता बनेर पुनः उदाए । आचार्यले निकै साना साना कामलाई ठूलो उपलब्धिका रूपमा सूचीकृत गर्छन् ।








