गण्डकीमा नयाँ मुख्यमन्त्री को ? कांग्रेस र माओवादीको दाबी कायम

पोखरा । संसद्बाट विश्वासको मत नपाएर एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेसँगै कांग्रेस-माओवादी नयाँ सरकार गठनको कसरतमा जुटेका छन् ।

तर उनीहरुबीच पहिले कसले सरकारको नेतृत्व गर्ने भन्नेमा अन्योल छ । तनहुँको उपनिर्वाचनका कारण पनि गण्डकी सरकार गठनमा केही समस्या देखिएको छ । स्रोतका अनुसार उपचुनावलाई देखाएर माओवादीले सरकारको नेतृत्वमा बार्गेनिङ गरिरहेको छ ।

‘सरकारको नेतृत्व पहिले पाए तनहुँमा चुनाव जिताउने नत्र फरक नतिजा आउन सक्ने धम्की माओवादीले दिएको छ,’ स्रोत भन्छ, ‘तर कांग्रेसले पहिले नेतृत्व गर्न खोजेको छ । चुनाव हार्ने डर पनि कांग्रेसलाई उत्तिकै छ । त्यसैले शनिबार नै नयाँ मुख्यमन्त्री बन्ने बाटो रोकिएको हो ।’

प्रदेश प्रमुखले चाहेमा उपधारा (३) अनुसार सीधै कांग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सक्छन् । एमालेले पनि उपधारा (२) को पाटोलाई समाप्त पार्नका लागि आवश्यक मत नभएपनि विश्वासको मत सदनबाट मागेको एमाले नेताहरूको तर्क छ ।

‘एमालेलाई थाहा छ नि विश्वासको मत पाइँदैन भन्ने । अहिले उपधारा (२) अनुसारको सरकार हो । विश्वासको मत नपाएपछि उपधारा (३) अनुसार सरकार बन्छ,’ मन्त्री वेदबहादुर गुरुङले भने, ‘यसको प्रमुख कारण भनेको उपधारा (२) मा अब सरकार नबनोस् भन्ने नै हो ।’

दुवै पार्टीले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी छोडेका छैनन् । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शीर्ष तहमा सहमति भएपछि सरकार बन्ने बताए । ‘प्रदेशभित्रको मात्रै कुरा होइन । केन्द्रीय स्तरका नेताहरूको पनि सहमति चाहिन्छ,’ उनले भने, ‘अबको नेतृत्व कांग्रेसकै हुन्छ ।’

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि माओवादीले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । ‘आलोपालोको सहमति भएको छ । कसले पहिले नेतृत्व गर्ने भन्ने निर्णय आज हुन्छ । मैले बुझेको चाहिँ माओवादीले नेतृत्व पहिले गर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *