जनकपुरमा २८ वर्षीया श्वेतामाथि श्रीमान्, सासू-ससुरा र देवरबाटै आगो लगाएर हत्या प्रयास

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाकी श्वेता झालाई आफ्नै श्रीमान्, ससुरा, सासू र देवरले आगो लगाएर हत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ । श्रीमान् राजीव झा, ससुरा शिवशंकर झा, सासू र देवरले आगो लगाएर श्वेताको हत्याको प्रयास गरेका हुन् ।

उनको छातीदेखि तिघ्रासम्म ३५ प्रतिशत भाग जलेको छ । २८ वर्षीया उनी अहिले प्रादेशिक अस्पतालमा उपचाररत छिन् । यो घटना वैशाख १ गतेको हो । घटनापछि उनलाई घरबाट निस्किन दिएको थिएन । उनको बुवा जयकुमार झा (भारत, दरभंगा)का आएपछि उपचारका लागि दरभंगा लगेका थिए ।

जयकुमार भन्छन्, ‘नेपालको कानून थाहा नभएर उपचारका लागि छोरीलाई भारत लगेको थिए । तर न्यायका लागि वकिलसँग सल्लाह गरेपछि पाएको सुझाव अनुसार छोरीलाई प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छौँ ।’

श्वेता र राजीवबीच १० वर्ष अगाडी सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवाह लगत्तै राजीव वैदेशिक रोजगारका लागि गएपछि श्वेता ५ वर्षसम्म माइतमै बसेकी थिइन् । श्वेता भन्छिन्, ‘उहाँ (श्रीमान्) विदेश गएपछि म माइतमै बसे । एक रुपैयाँ कहिल्यै दिएनन् । सबै खर्च मेरो बुवाले नै तिर्नुहुन्थ्यो ।’

विदेशबाट फर्केपछि तीन तोला चाँदीका लागि पटक पटक यातना दिएको उनले सुनाइन् । ‘कति यातना खेपेको छु’, भावुक हुँदै उनले भनिन्, ‘वैशाख १ गते ससुरा र देवरले समात्यो, अनि श्रीमानले आगो लगायो ।’ घरमै मारिदिन्छु, भारतबाट को आउँछन् तिमीलाई बचाउन भन्दै मोबाइल समेत खोसेको र उपचार गराउन समेत नलगेको उनले पीडा पोखिन् ।

उनका एक छोरी र एक छोरा समेत छन् । छोराछोरीलाई समेत कुटपिट गरेपछि माइत पठाएको श्वेताले बताइन् । उनी भन्छिन्, ‘मलाई मार्न खोज्नेहरूमाथि कारबाही हुनुपर्छ । म उहाँ (श्रीमान्)को मुख पनि हेर्न चाहँदिनँ । छोराछोरीले हक पाउनुपर्छ ।’

यो टनाबाट धनुषा प्रहरी अनभिज्ञ छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले अनौपचारिक रूपमा घटनाबारे थाहा पाएपछि अर्थात् बुझ्ने प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *