उपेन्द्र सुब्बाकी छोरीलाई अपमानित गर्ने स्कुलसँग महानगरले भोलि छलफल गर्ने

लेखक तथा निर्देशक उपेन्द्र सुब्बाकी छोरीमाथि अपमानित गर्ने डीएभी स्कुलसँग ललितपुर महानगरले छलफल गर्ने भएको छ। शुक्रबार बिहान ९ बजे महानगरका शिक्षा अधिकृतले डीएभी प्रशासनसँग छलफल गर्ने महानगरपालिकाले जानकारी दिएको छ।

आफ्नी छोरी फेल भएपछि उक्त स्कुलले पटक पटक निकालेर लैजानु भनेको दुखेसो सुब्बाले केहीदिन अघि सामाजिक सञ्जालमार्फत पोखेका थिए। त्यस लगतै यस घटनाको चौतर्फी विरोध भइरहेको छ।

सुब्बाले छोरी पढाउने स्कुल खोजिरहेको बताएका छन्। उनले त्यही स्टाटसमार्फत छोरी पढाउन स्कुल खोजिगरिरहेको पनि जानकारी गराएका थिए।

तर यसरी अपमानित गरिएको घटनामा महानगरपालिकाले उक्त स्कुललाई कारबाही गर्न सक्छ। डीएभीले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

 

सुब्बाले यस्तो लेखेका थिए : 

जारी फिल्म सुखद रुपमा चलिरहेको छ। हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाइनँ। नानीको आमालाई छोरीसँग स्कुल पठाएँ। घर म राति पुगें। घरमा मलाई देख्नासाथ छोरीले आँसु झार्न थालिन्।

मेरो माइली छोरी जाउलाखेलको (डीएभी) सुशील केडिया विश्व भारती स्कुलमा कक्षा ९ मा पढ्दै थिइन्। परीक्षा राम्रो गरिन्। पढ्नमा अरु विद्यार्थीभन्दा कमजोर भइन्। परीक्षामा फेल भइछन्।

आमा र छोरी भाइस प्रिन्सिपलको कोठामा पस्नासाथ यसको बुवा खै? किन नआएको भनी सोधियो रे। नानीको आमाले बिजि भएर आउन पाउनु भएन भनिछन्।

भाइस प्रिन्सिपलसहित अरु दुईजनाले गिज्याएर हाँस्दै, होच्याएर, हेपेर यो बच्चालाई हामी पढाउन सक्दैनौं, अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन, यिनले पढ्नै सक्दैन भनेछन्।

पहिला पनि जोशी सरले पढेर केही गरिखान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने भन्दै आमा छोरी दुवै मसँग रोए।

यो कुरा मलाई सुनेर रातभरी निन्द्रा लागेन। मनमा अनेक कुरा खेल्यो । आफैसँग रिस पनि उठ्यो। तब देश सम्झेँ । सरकार सम्झेँ । देशको शैक्षिक अवस्था सम्झेँ, शैक्षिक संस्थाहरु सम्झेँ। गुहार्नलाई साथीभाई सम्झेँ । फेरि पनि छोरीको आँखाबाट बररर झरेको आँसु आफ्नो आँखाबाट हटेन।

कक्षा २ बाट सोही स्कूलमा पढ्दै आएको मेरो छोरीलाई अपमान गर्दै पढ्न जान्दैन, यहाँ हामी पढाउन सक्दैनौं अन्तै लैजाउ भन्नु स्कुलको गैर जिम्मेवारी हो भनेर सम्झेँ। विद्यार्थी कमजोर हुनुमा ८–९ वर्षदेखि पढाउने स्कुलको पनि दोष हो कि विद्यार्थीको मात्रै ?

एउटा विद्यार्थी फेल हुँदा ऊभन्दा बढी शिक्षक र स्कुल फेल हुन्छ भनेर पढेको थिएँ। भोलि नै गएर मेरो छोरी होइन, तिमी फेल भएको हो, विद्यार्थीसँग कुरा गर्ने सोमत नभएको तिम्रो अहंकार फेल भएको हो भनेर छोरीको गालामा आँस नसुक्दै त्यो भाइस प्रिन्सिपलको गाला रन्काइदिउँ भन्ने म निम्छरो बाउको मनमा झोक नचलेको पनि होइन।

बिहान उठेर शैलेन्द्र डि कार्की सरलाई गुहारेँ। स्कुल गयौँ, भाइस प्रिन्सिपललाई भेट्यौँ। के के नै भनौंला भनेर गाको, अनुहार देखेर केही भन्न सकिनँ। सामान्य गुनासो राख्दै छोरीको ट्रान्सक्रिप्ट मागेर आएँ।

र यति भनें, मेरो छोरीलाई जस्तो व्यवहार अरु विद्यार्थीलाई नगर्नु। हरेक बच्चाहरु क्षमतावान हुन्छन्। एकै किसिमको क्षमता नराखे पनि विशेष क्षमता राख्छन्।

बच्चाहरुलाई हतोत्साही नगर्नु। बच्चाको अघि उस्को अभिभावकसँग बोल्दा सम्मानले बोल्नु, आर्थिकरुपमा गरीब परिवारकै किन नहोस्, नहेप्नु।

मेरो छोरी पेन्टिङ, गायन, नृत्य, अभिनयमा खुब चासो राख्छिन्। थोरबहुत जान्दछिन् पनि । यस अलावा फिक्सन पढ्न औधि रुचि राख्छिन् । मलाई मेरो छोरीलाई ९/१० कक्षा पठाउने स्कुल चाहिएको छ। लाग्ने शुल्क म नियमित तिर्नेछु ।

उपेन्द्र सुब्बाको गुनासो : विद्यालयले छोरीलाई अपमानित गरेपछि रातभरी निन्द्रा लागेन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 14 =