तनहुँको चुनावसँग गण्डकीको मुख्यमन्त्री बार्गेनिङ गर्दै माओवादी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री फेरिने र तनहुँको उपचुनाव हुने समय एउटै बन्यो । बैशाख ९ गते मुख्यमन्त्री खगराज अधिकारीको सरकार ढल्छ । चैत १० गते माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकार उपचुनाव अघि नै बाहिरिन लागेको हो । मुख्यमन्त्री अधिकारीले ९ गते संसदमा सम्बोधन गर्ने र रोष्ट्रमबाटै राजीनामा दिने बुझिएको छ ।

तर श्रोतले दिएको सुचना अनुसार आजभोलिमै उनले राजीनामा दिने सम्भावना पनि अधिक छ । उनी केन्द्रिय नेताहरुसँग सल्लाहमा छन् । ‘अहिले राजीनामा दिँदा मुख्यमन्त्री नियुक्ती चुनावअघि नै गर्नुपर्छ । सत्ता गठबन्धनमा खटपट बढ्न सक्छ,’ श्रोतले भन्यो, ‘सहजीकरण गर्ने कि अप्ठ्यारो बनाउने भन्ने मुख्यमन्त्रीको कोर्टमा छ । सम्भवतः अप्ठ्यारो बनाउनु हुन्न होला ।’

उनले राजीनामा दिएपछि नयाँ प्रक्रिया अनुसार सरकार बन्छ । संयोग यस्तो परेको छ कि गण्डकीको सरकार फेरिने समयमै तनहुँ १ मा उपनिर्वाचन समेत हुँदैछ । सत्ता घटक दल नेकपा माओवादीले तनहुँकै चुनावलाई देखाएर मुख्यमन्त्रीमा दावी गरेको छ । अघिल्लो कार्यकालदेखि नै मुख्यमन्त्री ताकेको माओवादीले अहिले मुख्यमन्त्री बन्न निकै जोडबल गरेको छ । संसदीय दलका नेता हरिबहादुर चुमान भन्छन्, ‘तनहुँको चुनावमा कांग्रेसको उम्मेद्वारलाई हामीले सघाएका छौं । चुनावमा उठेर मात्रै भएन, नतिजा पनि आउनुपर्यो ।’

उनले केन्द्रमा पनि अबको मुख्यमन्त्री आफू बन्नुपर्ने माग राखेर फर्किएका छन् ।

‘हाम्रो जोड मुख्यमन्त्री हो । माओवादीले मुख्यमन्त्री पायो भने कार्यकर्तालाई मत माग्न पनि सजिलो हुन्छ,’ उनले भने, ‘तनहुँको नतिजा पनि गठबन्धनको पक्षमा पर्छ । यो कुरा नेताहरुले बुझ्नुभएको छ ।’ तर शीर्ष नेतृत्वले निर्णय लिएका भने छैनन् । ९ गते सरकार ढले पनि १० गतेको मतदानपछि मात्रै मुख्यमन्त्री नियुक्त गर्ने सम्भावना छ ।

कांग्रेसले गण्डकीको मुख्यमन्त्री जसरी पनि आफैँ राख्न चाहेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सीट छ । एक सीट मनाङका स्वतन्त्र उम्मेद्वार राजीव गुरुङ उर्फ दीपक मनाङेले जितेका हुन् । उनी अहिले एकीकृत समाजवादी प्रवेश गरेका छन् । माओवादी नेता हरि चुमान दोश्रो पटक प्रदेश सांसदमा विजयी भएका हुन् ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *