तनहुँमा शक्ति केन्द्रित गर्दै कांग्रेस, विरासत जोगाउन संघर्ष

दमौली । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अहिले तनहुँमै मतदाताका घरदैलो पुग्छन् । उनको बिहानदेखि बेलुकीसम्मको कार्यसूची मतदाताको घरमा पुग्ने र गोविन्द भट्टराईलाई मत माग्ने हो । चैत २० गते मनोनयन दर्ता हुँदा अर्का महामन्त्री गगन कुमार थापा तनहुँ आएर कोणसभा गरेका थिए । थापा अहिले पनि तनहुँमै छन् । उनी पनि विश्वप्रकाश जस्तै मतदाताको घरघर पुग्न थालेका छन् ।

सभापतिमा पराजीत केन्द्रीय सदस्य डा. शेखर कोइराला केही दिन तनहुँ बसेर फर्किएका छन् । कांग्रेसले केन्द्रीय सदस्य र पदाधिकारीहरू तनहुँमा खटाएको छ । ‘मेरो जिम्मा व्यास १ मा परेको छ । मतदाताहरू भेटेको छु । गोविन्द भट्टराईलाई त चिनाउनुपर्ने रहेनछ,’ सहमहामन्त्री जीवन परियार भन्छन्, ‘उहाँले विगतमा गर्नुभएको कामलाई हेरेर भोट दिने मतदाताको आश्वासन छ ।’

दैनिक १५ भन्दा बढी केन्द्रीय सदस्य तनहुँका टोलटोलमा हिँडेका छन् । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसमा अध्यक्ष माधव कुमार नेपालले बुधबार डुम्रेमा सम्बोधन गर्ने कार्यक्रम छ । मंगलबार कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी महासचिव देवप्रसाद गुरुङ लगायत नेताहरूले व्यासमा सम्बोधन गरे ।

अहिले चुनाव जिताउनकै लागि एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठलाई तनहुँमा खटाइएको छ । श्रोतका अनुसार तनहुँमा गोविन्द भट्टराईले चुनाव जिते उनलाई मन्त्री बनाउन गठबन्धन राजी भएको छ । त्यसकै लागि किसान अहिले घरघर पुगेर आफ्ना समर्थकसँग भट्टराईका लागि मत मागिरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनाललाई देखाएपनि विभिन्न श्रोतहरूले गरेको अध्ययन अनुसार भर्खरै कांग्रेस छोडेर रास्वपा रोजेका स्वर्णीमसँगै उनको प्रतिस्पर्धा हुने पक्का छ ।

त्यसो त रास्वपाले पनि तनहुँको चुनावलाई निकै रणनीतिक र महत्त्वका साथ हेरिरहेको छ । रास्वपाका सभापति सहित केन्द्रीय स्तरका नेताहरूको तनहुँ आउजाउ बाक्लिएको छ । प्रदेशको पूर्ण कार्यसमिति तनहुँमै खटिएको छ । दैनिक जसो सभा र सम्मेलन गरिरहेको छ । तनहुँमा शक्ति केन्द्रित गर्नुमा कांग्रेसका दुईखाले बाध्यता छ । एउटा बाध्यता: मंसिर ४ को निर्वाचनमा अत्यधिक बहुमत (करिब ६ हजार) मत अन्तरले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल विजयी भएका थिए ।

अर्को: अहिले जोसँग प्रतिस्पर्धा हुँदैछ, उनीहरू दुवैजना पूर्व कांग्रेस हुन् । एमाले उम्मेदवार सर्वेन्द्र पनि आइजीपी बन्ने बेलासम्म कांग्रेस रहेको दाबी कांग्रेस नेताहरूको छ । महामन्त्री विश्वप्रकाश भन्छन्, ‘उहाँलाई आइजीपी कांग्रेसले बनाएको होइन भनेर प्रश्न गर्छन् साथीहरू । मैले भन्ने गरेको छु, हो ।’

अर्का उम्मेदवार स्वर्णीम रास्वपा छिर्नुअघिसम्म कांग्रेस थिए । त्यसैले पूर्व कांग्रेसहरुसँगको प्रतिस्पर्धा अहिलेका कांग्रेस उम्मेदवारका लागि प्रतिष्ठाको विषय छ । त्यसो त, २०७४ को निर्वाचन बाहेक यो क्षेत्रमा नेपाली कांग्रेसले एकछत्र जित्दै आएको थियो । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको तनहुँ १ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *