भारतीय पर्यटक भित्र्याउने बुद्ध एयरको लक्ष्य, पर्यटक लोभ्याउने पूर्वाधारकै अभाव

काठमाडौँ । बुद्ध एयर नेपालको सबैभन्दा पुरानो निजी विमान कम्पनी हो । नेपालगञ्ज, भैरहवा, धनगडी, सुर्खेत, विराटनगर आदि विभिन्न स्थानमा बुद्ध एयरको उडान सेवा विस्तार भएको छ । हाल देशका १४ स्थानमा बुद्ध एयरले उडान सेवा सञ्चालन गरिरहेको छ ।

केही समयअघि बुद्ध एयरले नयाँ गन्तव्य भद्रपुरमा पनि रात्रिकालीन उडान सेवा विस्तार गरेको थियो । तर सेवा विस्तार गरेको केही समय नबित्दै उडान बन्द गरियो ।

यात्रुकै अभावमा उक्त गन्तव्यमा रात्रीकालीन उडान बन्द गर्नुपरेकाे बुद्ध एयरका कम्युनिकेशन म्यानेजर दीपेन्द्र कर्णले बताए ।

‘त्यहाँ यात्रुसंख्या जति हुनुपर्ने हो, त्यत्ति भएन,’ उनले भने, ‘यात्रुकै अभाव भयाे ।’

नेपालगञ्ज र भैरहवाजस्ता गन्तव्य भारतीय सीमासँग जोडिएका विमानस्थल हुन् । त्यहाँबाट भारतीय पर्यटक भित्र्याउने बुद्ध एयरको लक्ष्य थियो । तर भारतीय पर्यटकलाई आकर्षण गर्ने पूर्वाधार र याेजना नै सरकारसँग नभएकाे उनकाे भनाइ छ । खास गरी यस्ता विमानस्थल भएका स्थानहरूमा पर्यटकीय गन्तव्यकाे विकास गर्न संघीय सरकारकाे पर्यटन विभाग, प्रदेश सरकार र स्थानीय सरकार ठाेस कार्यक्रम ल्याउनु पर्ने उनले बताए ।

‘प्रदेश सरकार र नगरपालिकाको पनि उत्तिकै महत्वपूर्ण भूमिका छ,’ उनले भने, ‘उहाँहरूले पनि समन्वय गर्दिनु पर्थ्याे । हामीले भद्रपुरमा पर्यटक ल्याउँदै छाैँ भने नयाँ पर्यटकलाई, नयाँ गन्तव्यले लोभ्याउन सक्नु पर्याे । ’

उनले नगरपालिका, टुरिजम बोर्ड, नागरिक उड्डयन प्राधिकरण र सरोकारवालाको पनि उल्लेख्य भूमिका रहेको बताए । विशेषत: नयाँ गन्तव्य हुँदा सरोकारवालाले पनि उत्तिकै हातेमालो गर्नुपर्ने बताए ।

भद्रपुर त एउटा उदाहरण मात्रै हो । नेपालमा पर्यटनको सम्भावना भएका धेरै ठाउँहरू छन् । तर पर्यटकलाई लोभ्याउने काम सुस्त गतिमा भइरहेको छ । विशेषत प्रचारप्रसारको कमी र यातायातको असुविधाका कारण पर्यटकीय स्थल ओझेलमा परेका छन् ।

उनले नयाँ गन्तव्यमा एयरलाइनलाई ल्यान्डिक पार्किङमा, नेबिकेगेशन चार्ज वा अन्य केही कुरामा छुट दिनुपर्ने बताए । साथै नेपाल टुरिजम बोर्डलाई त्यहाँ रहेको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न र विभिन्न सुविधा दिएर यात्रुलाई आकर्षण गर्न भनेका छन् ।

‘अलिकति डिस्काउन्ट दिएर हुन्छ कि, केही छुट गरेर हुन्छ कि त्यस्तो प्याकेजहरू पनि चाहियो नि,’ उनले भने ।

उनले सम्बन्धित निकायलाई उक्त क्षेत्रको प्रचारप्रसार र पर्यटन आउन योग्य बनाउन आग्रह गरेका छन् । उनले भद्रपुरमा फेरि उडान भर्ने योजना भएको बताए । उनका अनुसार मनसुन सकिएपछि केही जहाज थप गरी बुद्ध एयरले फेरि भद्रपुरमा उडान भर्ने छ ।

‘भद्रपुरमा फेरि उडान भर्छाैँ, हामी जहाजहरू थप्दै छौँ,’ उनले भने, ‘थपिसकेपछि र मनसुन सकिएपछि दिउँसोको उडानमा राखेर यी उडानमा जोड्छौँ ।’ उनले रात्रीकालीन नभई दिउँसोकै उडानलाई प्राथमिकतामा राखेर भद्रपुरमा पुनः उडान सञ्चालन गर्ने बताए ।

तर, भद्रपुर नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोखरेलले रात्रीकालीन उडान गर्ने यात्रुका लागि होटल, यातायात र अन्य सुविधा प्रशस्तै रहेको दाबी गर्छन् ।

‘पर्यटकलाई यातायात, होटल या अन्य कुनै कुराको अभाव छैन,’ उनकाे दाबी छ, ‘भद्रपुरमा होटलहरू प्रशस्तै छन् । यातायातको सुविधा पनि प्रशस्तै छ ।’ तर, ती हाेटल र यातायातले रातभर सेवा नदिने विषयलाई उनले बेवास्ता गरे ।

नयाँ गन्तव्यमा विमानलाई केही शुल्क छुट दिने की ?

नागरिक उड्डयन प्राधिकरणले यात्रुकाे सहजताका लागि रात्रीकालीन उडान सेवा सञ्चालनका लागि जाेड गरिरहेकाे भए पनि नयाँ गन्तव्यमा विमान सेवा सञ्चालनमा छुट दिने कुनै आयोजना ल्याएकाे छैन । नागरिक उड्डयन प्रधिकरणका प्रवक्ता जगन्ननाथ निरौलाका अनुसार उनले धेरै वर्षअघिदेखि निर्धारित शुल्क भएकाले शुल्क बढी भए जस्तो नलागेको बताए ।

उनले भने, ‘शुल्क घटाउन कुनै आयोजना आएको छैन । धेरै वर्ष अगाडिदेखिका चार्जहरू हुन् । अहिलेसम्म चेन्ज भएको छैन । त्यसैले, कुनै शुल्क बढी भएजस्तो लाग्दैन हामीलाई ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले लिनै पर्ने शुल्क मात्र लिएको उनको भनाइ छ ।

‘उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि लगानी गरेको हुन्छ,’ उनले भने, ‘फ्युलकाे मूल्य पनि घटिरहेकै छ । यस्ताेमा थप सुविधा माग्नु जायज छैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *