गण्डकीका मुख्यमन्त्रीले राजीनामा दिन्छन् कि संसद् फेस गर्छन् ?

पोखरा । सरकारले वैशाख ९ गतेका लागि संसद् अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । प्रदेश प्रमुखले ९ गते ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।

बर्खे अधिवेशन सुरु हुने बेला नभएपनि संसद् बोलाउनुमा अल्पमतमा रहेका मुख्यमन्त्री खगराज अधिकारीले संसद्लाई सम्बोधन गर्न खोजेको देखिन्छ । ९ गतेसम्म उनले विश्वासको मत नपाए यो सरकार ढल्छ । तर विश्वासको मतमा जाने कि राजीनामा दिने भन्नेमा मुख्यमन्त्री क्लियर भएका छैनन् ।

सरकारका प्रवक्ता तथा मन्त्री रोशन गाहाका अनुसार संसद् अधिवेशन अघि नै अन्य दलहरूसँग पनि छलफल गरेर अघि बढ्न लागेका छन् । ‘मुख्यमन्त्रीले संसद् अघि सबै दलहरूसँग छुट्टाछुट्टै भेट्नुहुन्छ । छलफलबाट जे निष्कर्ष आउँछ त्यही अनुसार अगाडी बढ्छौँ,’ उनले भने, ‘संविधानको व्यवस्था अनुसार चल्छौँ ।’ चैत १० गते माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् अधिकारी ।

श्रोतका अनुसार ९ गते संसद्लाई सम्बोधन गरेर विश्वासको मत नलिई रोष्टमबाटै राजीनामा दिने सम्भावना अधिक छ । ‘विश्वासको मत पाउने सम्भावना छैन । निकै कम सीट समर्थनमा रहेकोले सम्बोधनपछि रोष्टमबाटै राजीनामा दिनु उचित हुन्छ,’ उनी निकट श्रोतले भन्यो ।

माओवादी र राप्रपा सहित ३२ सीटको समर्थनमा अधिकारी पुस २५ गते मुख्यमन्त्री बनेका थिए । माओवादीले समर्थन झिकेपछि अधिकारीसँग २४ सीटको समर्थन बाँकी छ । सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । माओवादी अहिले कांग्रेससँग मिलेको छ । नयाँ गठबन्धनमा ३५ सीटको समर्थन छ । एकीकृत समाजवादी समेत हुँदा ३६ सीट पुग्छ । माओवादीका एकजना सांसद सभामुख बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *