रास्वपाले ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाही बारेमा अध्ययन गर्दै संसद् सचिवालय

काठमाडौँ । ढाकाकुमार श्रेष्ठमाथि लागेको कारबाहीबारे संघीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई गत चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो ।
संघीय संसद्का प्रवक्ता एकराम गिरीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्था अनुसार संघीय सचिवालयले पार्टीले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको बताए ।
सचिवालयले आइतबारदेखि अध्ययन गरेर उक्त निर्णय बारेको यथार्थ सभामुखलाई जानकारी गराउने उनले बताए । गिरीले भने, ढाकाकुमार श्रेष्ठलाई संसद् पद रिक्तताको लागि रास्वपाले निष्कासन गरिएको भनिएको पत्रमाथि संसद् सचिवालयले छानबिन गरेर सभामुखलाई प्रतिवेदन बुझाउनुपर्नेछ । राजनीतिक दलसम्बन्धी ऐनले जे–जे व्यवस्था गरेको छ, सोही अनुसार साधारण सदस्यबाट निष्कासन गर्नका लागि जुन विधि प्रक्रिया अपनाउनु पर्छ भनिएको छ, सो सम्बन्धी प्रक्रिया पूरा गरेको छ कि छैन भनेर अध्ययन गर्दैछौँ ।’
अब सभामुखले सदनमा स्थान रिक्तताको जानकारी गराएपछि निर्वाचन आयोगले समानुपातिक बन्द सूचीमा रहेका कुनै एक उम्मेदवारलाई प्राथमिकताको क्रम अनुसार छनौट भएका व्यक्तिलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने प्रावधान रहेको छ ।
केही दिन अघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरिसकेको छ ।
सांसद श्रेष्ठलाई झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले कारबाही गरेको थियो । भने, श्रेष्ठले उक्त अडियो आफ्नो नभएको र आफूलाई फसाउन खोजिएको बताउँदै अदालत जाने बताएका छन् ।








