फेवाताल बीचको मन्दिर पुनः निर्माण सुरु

पोखरा । पोखराको फेवाताल बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिर पुनः निर्माण सुरु भएको छ । २०७२ को भूकम्पले दक्षिण ढल्किएको मन्दिर पूरै भत्काएर नयाँ निर्माण गर्न लागिएको हो । पुरानो मन्दिर भत्काएसँगै चाँदीको मूर्तिमा नजिकै पुजाको व्यवस्था मिलाइएको छ ।

२०१७ सालमा राजा महेन्द्रले मन्दिर निर्माण गरेका थिए । मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले २५ लाख व्यवस्था गरेको र मन्दिर व्यवस्थापन समितिले १ करोड १५ लाख जुटाउने छ । करिब डेढ करोड लागतमा मन्दिर पुनः निर्माण गर्न लागिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुवँरले जानकारी दिए ।

मन्दिरकै लागि पोखरा महानगर र सहयोग दातासँग पनि सहयोग मागिएको छ । दैनिक रुपमा मन्दिर पुग्ने दर्शनार्थीबाट सहयोग संकलन भइरहेको कुवँरले बताए । दैनिक ५० हजारसम्म चन्दा संकलन भएको छ । पुनः निर्माणको काम ५ महिनाभित्र सम्पन्न गरिने समितिले जनाएको छ । यो मन्दिर सुरुमा कहिले निर्माण भएको भन्ने ट्वाक्कै मिति छैन । तर १६६७ सालदेखि कायम रहिआएको किंवदन्ती छ । कतै १४४७ सालदेखि अस्तित्वमा रहेको भन्ने अभिलेख समेत रहेको समितिले जनाएको छ ।

कास्कीका पहिलो राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fifteen =