घाटमा पनि भ्रष्टाचार, पोखरा महानगरका कर्मचारी छानविनमा

पोखरा । पटक पटक सूचना निकालेर पनि टेण्डर नपरेपछि पोखरा रामघाटको निर्माण सामग्री महानगर आफैले कर्मचारी राखेर बेच्न थाल्यो ।
सामग्री लिन ट्रक र ट्याक्टरवाला पुग्छन् । मजदुरले भरिदिन्छन्, त्यसको रसिद महानगरबाट खटिएको टोलीले काट्छ । तर आधाभन्दा बढी सामग्री रसिद नकाटी सप्लाई गर्ने र आम्दानी झ्वाम पारेको आरोप कर्मचारीहरुलाई छ ।
सञ्चार माध्यममा उनीहरुले गरेका बदमासी प्रमाण सहित सार्वजनिक भएपछि महानगरले छानविन सुरु गरेको छ । कृषि महाशाखा प्रमुख मनहर कडरियाको संयोजकत्वमा गठित समितिमा सहकारी महाशाखा प्रमुख भरतराज पौडेल र आलेप अधिकृत रोमनाथ उपाध्याय सदस्य छन् । उनीहरुले छानविन सुरु गरिसकेको जनाएका छन् ।
‘छानविन लगभग अन्तिम चरणमा पुगेको छ । आरोपितहरुको बयान सकेका छौं । खोज्नुपर्ने प्रमाण र आधार संकलन गरेका छौं,’ सदस्य उपाध्यायले भने, ‘अब प्रतिवेदन तयार गरेर बुझाइदिन्छौं ।’
कर्मचारीहरु शोभाकान्त पोखरेल, प्रनानी हरिबहादुर थापा, हरि बराल र किसन गायकलाई राजश्व चुहावटको आरोप छ । समाचार आउने वित्तिकै महानरगले छानविन समिति गठन गरेको थियो । समितिलाई ७ दिनको म्याद छ।








